निर्यात ३.७ प्रतिशतले घट्दा, आयात २.८ प्रतिशतले घट्याे


काठमाडौं – चालु आर्थिक वर्ष २०८०/८१ को ९ महिनामा कुल वस्तु निर्यात ३.७ प्रतिशतले कमी आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिनाको आर्थिक तथा वित्तीय स्थितिको विवरणमा सो अवधिमा निर्यात रकम ११३ अर्ब ९५ करोड कायम भएको हो। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २६.३ प्रतिशतले कमी आएको थियो ।

भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः प्रतिशत र २ प्रतिशतले कमी आएको छ भने चीनतर्फको निर्यात २३२ प्रतिशतले वृद्धि भएको केन्द्रीय बैंककाे तथ्याङकले देखाएको छ।

आर्थिक वर्ष २०८०/८१ को ९ महिनामा कुल वस्तु आयात २.८ प्रतिशतले कमी आई ११ खर्ब ६७ अर्ब ३७ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १८.१ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलुकबाट भएको आयात क्रमशः ३.२ प्रतिशत र २२.६ प्रतिशतले घटेको छ ।

चीनबाट भएको आयात ३३.४ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा सवारी साधन तथा स्पेयर पार्टपुर्जा, तयारी पोशाक, हवाइजहाजको स्पेयर पार्टपुर्जा, विद्युत्तीय उपकरण, लत्ताकपडा लगायतका वस्तुको आयात बढेको छ भने सुन, कच्चा सोयाविन तेल, कच्चा पाम तेल, पेट्रोलियम पदार्थ, धान तथा चामल लगायतका वस्तुको आयात घटेको छ ।

आर्थिक वर्ष २०८०/८१ को ९ महिनामा कुल वस्तु व्यापार घाटा २.८ प्रतिशतले कमी आई १०५३ अर्ब ४२ करोड रुपैयाँ पुगेको पनि राष्ट्र बैंकले बताएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १७.१ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पनि यस्तो अनुपात ९.८ प्रतिशत नै रहेको थियो। समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १११ अर्ब २ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १०१ अर्ब ६७ करोड बराबरको भएको थियो ।