काठमाडौं – एसियन लाइफ इन्स्योरेन्स कम्पनीको मुनाफासहित जीवन बीमा कोषको आकार पनि १० प्रतिशतले वृद्धि भएर ४१ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ। कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणमा कम्पनीको खुद नाफामा पनि उल्लेख्य वृद्धि भएको छ।
समीक्षा अवधिसम्ममा कम्पनीको मुनाफा २५४.९२ प्रतिशतले वृद्धि भई ६९ करोड ११ रुपैयाँ आर्जन गरेको छ । गत वर्षको यसै अवधिमा १९ करोड ४७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
कम्पनीको खुद बीमा शुल्क आम्दानीका साथै लगानी तथा कर्जाबाट हुने आम्दानी बढेपछि नाफामा सुधार आएको हो । यस कम्पनीको खुद बीमा शुल्क आम्दानी १०.५० प्रतिशतले बढेर ५ अर्ब ८ करोडबाट ५ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ ।
त्यस्तै, कम्पनीको खुद दावी भुक्तानी पनि उल्लेख्य रुपले वृद्धि भएको छ। यस अवधिमा कम्पनीको दावी भुक्तानी १०४ प्रतिशतले बढेर तीन अर्ब १५ करोड रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कम्पनीले ६ लाख ९१ हजार भन्दा बढी वटा बीमा पोलिसी जारी गरेको विवरणले देखाएको छ।
प्रतिक्रिया