एफपीओ निष्कासनको तयारीमा रहेको मिर्मिरे लघुवित्तको वित्तीय अवस्था

एफपीओ निष्कासनको तयारीमा रहेको मिर्मिरे लघुवित्तको वित्तीय अवस्था


बैंकिङ्ग समाचार, काठमाडौं ।
मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ । 

कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा एफपीओ निष्कासनका लागि निवेदन दिइसकेको छ । कम्पनीलले प्रतिकित्ता रू. १७७ दशमलव ८ मा ५१ हजार ३१६ कित्ता एफपीओ निष्कासन गर्नका लागि गत कात्तिक २३ गते धितोपत्र बोर्डमा निवेदन दिएको हो ।

विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । उक्त एफपीओ निष्कासन गर्नका लागि कम्पनीले इक्रा नेपालमा रेटिङ गराइसकेको छ । इक्रा नेपालले कम्पनीले निष्कासन गर्न लागेको एफपीओलाई इक्रा एनपी इस्यूआर बीबी रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको देखाँउछ । 
कम्पनीले नागबेली लघुवित्त वित्तीय संस्था र स्वेडा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरिसकेको छ ।

स्वेडा लघुवित्त वित्तीय संस्था दोस्रो बजारमा सूचीकृत कम्पनी भने होइन । दोस्रो बजारमा सूचीकृत कम्पनीले सूचीकृत नभएको कम्पनीलाई प्राप्ति गरेपश्चात शेयर संरचना मिलाउनका लागि एफपीओ निष्कासन गर्नुपर्ने कानूनी प्रावधान भएकाले उक्त कम्पनीले एफपीओ निष्कासन गर्न लागेको हो । नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएपछि मात्र कम्पनीले एफपीओ निष्कासन गर्नेछ  । 

कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १९३ प्रतिशत अर्थात २ दशमलव ९३ गुणा बृद्धि भएको छ । कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. २ करोड १७ लाख ३७ हजार नाफा कमाएको उक्त कम्पनीले चालू आवको सोही अवधिमा वृद्धि गरेर रू. ६ करोड ३७ लाख ६१ हजार कमाएको छ ।

चालू आवको पहिलो त्रैमासमा खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएसँगै कम्पनीको नाफा बढ्न सहयोग पुगेको हो । गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा खुद ब्याज आम्दानी ११५ प्रतिशत र सञ्चालन नाफा १९३ प्रतिशत वृद्धि भएको हो । 

चुक्तापूँजी रू. ४३ करोड ५० लाख ७१ हजार रहेको कम्पनीले जगेडामा रू. ४१ करोड १७ लाख ८७ हजार सञ्चित गरेको छ । त्यसैगरी चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले रू. ५ अर्ब ४६ करोड ६ लाख सापटि लिएर, रू. २ अर्ब १३ करोड ९५ लाख निक्षेप संकलन गरेर रू. ८ अर्ब ११ करोड ९४ लाख कर्जा लगानी गरेको छ । 

कम्पनीको प्रतिशेयर आम्दानी ५८ दशमलव ६२ प्रतिशत, मूल्य आम्दानी अनुपात २५ दशमलव ७४ गुणा, तरलता अनुपात २४ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू.१९४ दशमलव ६५ पुगेको छ ।