एनआरएनले नेपाली बैंकमा निक्षेप खाता खोल्न पाउने

एनआरएनले नेपाली बैंकमा निक्षेप खाता खोल्न पाउने


बैंकिङ्ग समाचार, काठमाडौं ।
गैर आवासीय नेपालीहरू र उनीहरुले खोलेका विदेशी संस्थाहरुबाट विदेशी मुद्रामा निक्षेप संकलन गर्न राष्ट्र बैंकले सहजीकरण गर्ने भएको छ ।  शुक्रबार नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिका पहिलो समिक्षा गर्दै यस्तो बताएको हो । 

मौद्रिक नीतिको उपर्युक्त कार्यदिशा अनुरुप विद्यमान अनिवार्य नगद अनुपात, बैंक दर र वैधानिक तरलता अनुपात यथावत राखेको छ । शुक्रबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको समिक्षामा तथा वित्तीय संस्थाहरुले कर्जा–निक्षेप अनुपात २०७९ असार मसान्तसम्ममा निर्धारित सीमाभित्र कायम गर्ने कार्ययोजना सञ्चालक समितिबाट स्वीकृत गराए राष्ट्र बैंक समक्ष पेश गर्ने भनेका छन् । 

त्यस्तै विदेशी विनिमय सञ्चितिको विद्यमान स्थितिलाई दृष्टिगत गरी तोकिएका वस्तुहरुको आयात प्रतीतपत्र खोल्दा अनिवार्य रुपमा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ ।  ड्राफ्ट/टि.टि.को माध्यमबाट आयात गर्दा प्रदान गरिने रकमको अधिकतम सटही सुविधासम्म मात्र चाँदी आयात गर्नको लागि सटही सुविधा प्रदान गर्न सक्ने व्यवस्था गरिनेछ । 

व्यावसायिक कृषि, उत्पादनमूलक उद्योग, पूर्वाधार निर्माण र पर्यटनसँग सम्बन्धित नेपाली फर्म तथा कम्पनीले विदेशबाट संस्थागत ऋण लिन चाहेमा वाणिज्य बैंकहरुले बैंक ग्यारेण्टी जारी गर्न सक्ने व्यवस्था मिलाएको राष्ट्र बैंकले जनाएको छ ।  विदेशी मुद्रामा लिइने ऋणको ब्याजदर तथा शुल्क लगायतका विद्यमान व्यवस्थामा पुनरावलोकन गरिने छ ।