स्ट्याण्डर्ड चार्टड, बैंक अफ काठमाण्डू र प्राइम लाइफको शेयरमूल्य समायोजन

स्ट्याण्डर्ड चार्टड, बैंक अफ काठमाण्डू र प्राइम लाइफको शेयरमूल्य समायोजन


बैंकिङ्ग समाचार, काठमाडौं ।
स्ट्याण्डर्ड चार्टड, बैंक अफ काठमाण्डू र प्राइम लाइफ इन्स्योरेन्सको शेयरमूल्य मंसिर १० गते शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ ।
तीनवटै कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ शुक्रबार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य तोकेको हो ।
यस दिन नेप्सेले बैंक अफ काठमाण्डू, स्ट्याण्डर्ड चार्टर्ड बैंक र प्राइम लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो ।

नेप्सेले स्ट्याण्डर्ड चार्टर्ड बैंकको १० प्रतिशत, बैंक अफ काठमाण्डूको १० प्रतिशत र प्राइम लाइफको १५ प्रतिशत बोनस समायोजनपछि समायोजित मूल्य तोकेको हो । यसअनुसार स्ट्याण्डर्ड चार्टर्डको ४८६.४५ रुपैयाँ, बैंक अफ काठमाण्डूको शेयरमूल्य ३१० रुपैयाँ र प्राइम लाइफको ७५६.५२ रुपैयाँ निर्धारण गरिएको हो ।

नेप्सेले अघिल्लो कारोबार दिन बिहीबारको अन्तिम मूल्यका आधारमा शेयरमूल्य समायोजन गरेको हो । बिहीबार स्ट्याण्डर्ड चार्टर्डको ५३५.१० रुपैयाँ, बैंक अफ काठमाण्डूको शेयर प्रतिकित्ता ३४१ रुपैयाँ र प्राइम लाइफको ८७०.१० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार निर्धारण गरिएको समायोजित शेयरमूल्यलाई आधार मानेर तीनवटै कम्पनीको अब आइतबार शेयर कारोबार खुल्नेछ ।

लाभांश पारित सहितका अन्य प्रस्तावहरु पारित गर्नका लागि स्ट्याण्डर्ड चार्टर्डले मंसिर २८ गते, मंगलबार प्रधान कार्यालय नयाँ बानेश्वर काठमाडौंमा ३५ औं वार्षिक साधारण सभा बोलाएको छ भने बैंक अफ काठमाण्डूले मंसिर २९ गते बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान १० बजे २७ औं वार्षिक साधारण सभा आह्वान गरेकोे छ । उता प्राइम लाइफले मंसिर १९ गते दिनको २ बजे चौधौं वार्षिक साधारण सभा बोलाएको छ ।