आज दुई वाणिज्य बैंक सहित तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

आज दुई वाणिज्य बैंक सहित तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन


बैंकिङ्ग समाचार, काठमाडौं ।
बिहीवार दुई वाणिज्य बैंकहरु स्ट्याण्डर्ड चार्टर्ड बैंक र बैंक अफ काठमाण्डूसँगै प्राइम लाईफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । यी तीन ओटै कम्पनीहरुले प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि वार्षिक साधारण सभा आव्हान गरिसकेका छन् । उक्त सभा प्रयोजनका लागि मंसिर १० गते एक दिन बुक क्लोज गर्ने भएकाले मंसिर ९ गतेसम्म शेयर कायम गर्नुपर्ने भएको हो

स्ट्याण्डर्ड चार्टर्ड बैंकले मंसिर २८ गते ३५ औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको कात्तिक २९ गतेको सञ्चालक समितिको बैठकले बैंकको प्रधान कार्यालय, नयाँ बानेश्वर,काठमाडौंबाट भर्चुअल माध्यमबाट सभा गर्ने निर्णय गरेको हो । सभा विहान १० बजेदेखि सुरु हुनेछ । सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणलाई पनि टुङ्ग्याउनेछ ।

यस वर्ष बैंकको सञ्चालक समितिले वितरण गर्ने निर्णय गरेको कुल १३ दशमलव शून्य ६ प्रतिशत लाभांशलाई पनि सभाले अन्तिम रुप दिनेछ । बैंकको असोज १९ गतेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ दशमलव शून्य ६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

त्यस्तै बैंक अफ काठमाण्डूले मंसिर २९ गते २७औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको कात्तिक २९ गतेको सञ्चालक समितिको बैठकले नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौंमा सभा गर्ने निर्णय गरेको हो । बैंकले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट कुल १४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । 

बैंकको कात्तिक ८ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । हाल बैंकको चुक्तापूँजी रू. ९ अर्ब ६५ करोड ८१ लाख ७६ हजार रहेको छ । सोही पूँजीको आधारमा बैंकले लाभांश वितरण गर्न लागेको हो । 

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले मंसिर १९ गतेका लागि १४औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले सभा अग्रवाल भवन कमलपोखरी, काठमाडौंमा दिउँसो २ बजे बोलाएको हो । कम्पनीले यस वर्ष आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

साथै सभाले कम्पनीका अधिकृत पूँजीवृद्धि गरी रू. ५ अर्ब कायम गर्ने ,जारी तथा चुक्ता पूँजी वृद्धि गर्न स्वीकृती प्रदान गर्ने,कम्पनीको शेयर लगानी अनुपात परिवर्तन गरी संस्थापक तर्फ ६० प्रतिशत तथा सर्वसाधारण तर्फ ४० प्रतिशत कायम गर्ने प्रस्ताव पनि सभाका लागि तय गरेको छ । सभाले सर्वसााधरण शेयरधनीको तर्फबाट सञ्चालक समितीमा प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गर्ने र स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गर्ने लगायतका प्रस्ताव पारीत गर्नेछ ।