न्यादी हाइड्रोपावरको शेयर कारोबार बिहीवार हुन सकेन

न्यादी हाइड्रोपावरको शेयर कारोबार बिहीवार हुन सकेन


बैंकिङ्ग समाचार, काठमाडौं ।
बुधवार धितोपत्र दोस्रो बजारमा शेयर सूचीकृत भएको न्यादी हाइड्रोपावर लिमिटेडको कारोबार भने आज (बिहीवार) हुन सकेन ।

सूचीकृत नयाँ कम्पनीको नियमित कारोबारका लागि प्रि-ओपनिङ सेसनमा अर्डर म्याच भई कारोबार भएपछि मात्र नियमित सेसनमा कारोबार शुरु हुन्छ ।

बिहीवारदेखि कारोबारयोग्य भएको कम्पनीको नियमित शेयर कारोबार भने प्रि-ओपनिङ सेसनमा कारोबार नभएकाले हुन नसकेको हो ।

कम्पनीले बुधवार धितोपत्र दोस्रो बजारमा १ करोड ५० लाख कित्ता शेयर सूचीकृत गराएको थियो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि रू. ९४ दशमलव २३ देखि रू. २८२ दशमलव ३९ सम्मको मूल्य रेञ्ज तोकेको छ ।

नेप्सेले कम्पनीको स्टक संकेत भने एनवाईएडिआई दिएको छ । कम्पनीले सर्वसाधारणमा असोज १५ गतेदेखि १९ गतेसम्म आईपीओ विक्री खुला गरी कात्तिक ५ गते बाँडफाँट गरेको थियो ।

कम्पनीले लमजुङ जिल्लामा ३० मेगावाट क्षमताको न्यादी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यस आयोजनको निर्माण लागत अनुमानित रू. ६ अर्ब ११ करोड ७७ लाख ५५ हजार रहेको छ ।