शाइन रेसुङ्गाले ११.५% लाभांश पारित गर्न बोलायो साधारण सभा

शाइन रेसुङ्गाले ११.५% लाभांश पारित गर्न बोलायो साधारण सभा


बैंकिङ्ग समाचार, काठमाडौं ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको १३औं साधारण सभा मंसिर २९ गते हुने भएको छ ।

सभा महाराजा रिसोर्ट, बुटवल उपमहानगरपालिका ११, रुपन्देहीमा बिहान ११ बजे शुरु हुने भएको हो । कम्पनीको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्तापूँजीको १० दशमलव ९३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि शून्य दशमलव ५७ प्रतिशत नगद लाभांश गरी कुल ११ दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

साथै, सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा प्राप्ति सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालकको संख्या र समूहगत प्रतिनिधित्वमा परिवर्तन गरी सोही बमोजिम नियमावलीको सम्बन्धित नियम संशोधन गर्ने, जारी तथा चुक्तापूँजी वृद्धि गरी प्रवन्धपत्र संशोधन गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर १७ गतेदेखि मंसिर २९ गतेसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा मंसिर १६ गतेसम्म कायम शेयरधनीहरु मात्र उक्त सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।