सूचीकृत २६ वाणिज्य बैंकमध्ये ५ को अझै लाभांश घोषणा हुन बाँकी

सूचीकृत २६ वाणिज्य बैंकमध्ये ५ को अझै लाभांश घोषणा हुन बाँकी


बैंकिङ्ग समाचार, काठमाडौं ।
दोस्रो बजारमा सूचीकृत २६ ओटा वाणिज्य बैंकमध्ये पाँच ओटा बैंकले लाभांश घोषणा गर्न बाँकी रहेको छ । 

चालू आर्थिक वर्षको चार महीनामा बितिसक्दा पनि सिभिल बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, नेपाल एसबिआई बैंक,सेञ्चुरी कमर्सियल बैंक र कृषि विकास बैंकले लाभांश घोषणा गरेको छैनन् । 

गत आवको मुनाफाबाट यस वर्षका लागि लाभांश वितरण गरेका २१ ओटा कम्पनीमध्ये पाँच ओटा कम्पनीले साधारण सभासमेत सम्पन्न गरिसकेका छन् । सानिमा बैंक,कुमारी बैंक सिटीजन्स इन्टरनेशनल बैंक, माछापुच्छ्रे बैंक र नेपाल बङ्गलादेश बैंकले साधारण सभाबाट लाभांश पारित गरिसकेका हुन् । 

कतिपय कम्पनीहरुले साधारण सभाको मितिसमेत तय गरिसकेका छन् ।  हालसम्ममा   लाभांश वितरण गर्ने घोषणा गरेका २१ ओटा ती कम्पनीमध्ये सबैभन्दा बढी नबिल बैंकले ३३ दशमलव ६ प्रतिशत बोनस शेयर र ४ दशमलव ४ प्रतिशत नगद लाभांश गरेर कुल ३८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । 

त्यसैगरी सबैभन्दा कम सनराइज बैंकले ६ दशमलव ६५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३५ प्रतिशत नगद लाभांश( कर प्रयोजनको लागि) समेत गरेर कुल ७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । 

लाभांश वितरण गर्न बाँकी पाँच ओटा कम्पनीमध्ये सबैभन्दा बढी लाभांश क्षमता कृषि विकास बैंकको रहेको छ । कम्पनीको लाभांश क्षमता १० दशमलव ५६ प्रतिशत रहेको छ । त्यसैगरी नेपाल क्रेडिट एण्ड कमर्स बैंकको ६ दशमलव ९२ प्रतिशत,सेञ्चुरी कमर्सियल बैंकको ६ दशमलव ५८ प्रतिशत,सिभिल बैंकको ५ दशमलव ७६ प्रतिशत र नेपाल एसबिआई बैंकको ३ दशमलव ५ प्रतिशत  लाभांश क्षमता रहेको छ ।