करिब ४अर्बको कारोबार हुदा नेप्सेमा ७.९० अंकको वृद्धि

करिब ४अर्बको कारोबार हुदा नेप्सेमा ७.९० अंकको वृद्धि


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन आज सोमबार सामान्य अंकको वृद्धि भएको छ । नेप्से आज ७.९० अंकले बढेर दुई हजार सात सय ६५ दशमलब ४४ विन्दुमा पुगेको हो । त्यस्तै, आज कारोबार रकम भने बढ्न सकेको छैन । आज नेप्सेमा ३ अर्ब ९२ करोड ९२ लाख बराबरको कारोबार भएको छ ।  

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीहरुमा मानुषी लघुवित्त वित्तीय संस्था र चन्द्रागीरी हिल्स रहेका छन् । यी दुबै कम्पनीको शेयरमूल्य सर्किट लेभेलमा बढेको छ । आज मानुषी लघुवित्तको शेयरमूल्य बढेर प्रतिकित्ता १८०९.२० पुगेको छ भने चन्द्रागीरी हिल्सको शेयरमूल्य आज बढेर प्रतिकित्ता १७ सय रुपैयाँ पुगेको नेप्सेले जनाएको छ ।  

त्यस्तै, आज कर्पोरेट डेभलपमेन्ट बैंक र रिलायन्स फाइनान्सको शेयरमूल्यमा गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार महालक्ष्मी विकास बैंकको भएको छ । यस बैंकको आज ३४ करोड भन्दा बढीको कारोबार भएको छ ।