हालसम्म ५ वटा विकास बैंकको लाभांश घोषणा, हेर्नुस् कुनकाे कति

हालसम्म ५ वटा विकास बैंकको लाभांश घोषणा, हेर्नुस् कुनकाे कति


बैंकिङ्ग समाचार, काठमाडौं ।
हालसम्म नेप्सेमा सूचिकृत भएका विभिन्न ५ वटा विकास बैंकहरूले आर्थिक वर्ष २०७७/७८ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई प्रदान गरिने लाभांशकाे घाेषणा गरेका छन् । साधारण सभाबाट पारित भएपश्चात उक्त लाभांश शेयरधनीहरूलाई वितरण गरिनेछ ।
लाभांश घाेषणा गर्ने ५ वटा विकास बैंकमध्ये सबैभन्दा धेरै कामना सेवा विकास बैंकले लाभांश घाेषणा गरेकाे छ भने सबैभन्दा थाेरै सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडकाे लाभांश रहेकाे छ । कामना सेवा विकास बैंक लिमिटेड, मुक्तिनाथ विकास बैंक लिमिटेड, लुम्बिनी विकास बैंक लिमिटेड, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घाेषणा गरेका हुन् । जसमध्ये, कामना सेवा र सांग्रिलाकाे लाभांश साधारण सभाबाट पारित भइसकेकाे छ । मुक्तिनाथ विकास बैंकले लाभांश पारित गर्न साधारण सभा बाेलाएकाे छ । शाइन रेसुङ्गा र लुम्बिनी विकास बैंकले भने हालसम्म साधारण सभा तथा बुकक्लाेज मिति ताेकेका छैनन् ।

हेर्नुस् कुन बैंककाे कति लाभांश ?
१. कामना सेवा विकास बैंक लिमिटेड

कामना सेवा विकास बैंक लिमिटेडको असाेज ७ गते, बिहीबार सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १८.५० प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ०.९७ प्रतिशत नगद गरी कुल १९.४७ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ । बैंककाे १५ औं वार्षिक साधारण सभा आज कात्तिक २३ गते, मंगलबार, पार्क भिलेज रिसाेर्ट, बुढानीलकण्ठ, काठमाडाैँमा सम्पन्न भइसकेकाे छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कात्तिक १० गते एक दिनको लागि बुकक्लोज गरेको थियाे । त्यसैले, कार्तिक ९ गतेसम्म नेप्सेमा काराेबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । अब बैंककाे सेयर किन्नेले याे आर्थिक वर्षकाे लाभांश पाउँदैनन् ।

२. मुक्तिनाथ विकास बैंक लिमिटेड

मुक्तिनाथ विकास बैंक लिमिटेडको कार्तिक १२ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १७.५७५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.९२५ प्रतिशत नगद गरी कुल १८.५० प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ । बैंकको पन्ध्रौँ वार्षिक साधारण सभा मंसिर २५ गते, शनिबार होटल जलमहर घारिपाटन पोखरामा बिहान ९ बजेदेखि सुरू हुनेछ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर १५ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

३. लुम्बिनी विकास बैंक लिमिटेड

लुम्बिनी विकास बैंक लिमिटेडकाे कार्तिक ८ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ३.७१२ प्रतिशत नगद गरी कुल १३.७१२ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ । हालसम्म बैंकले साधारण सभा तथा बुकक्लाेज मिति ताेकेकाे छैन ।

४. शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको कार्तिक १४ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १०.९३ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ । हालसम्म बैंकले साधारण सभा तथा बुकक्लाेज मिति ताेकेकाे छैन ।

५. सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडकाे असाेज १९ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.५२६३ प्रतिशत नगद गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे छ ।  बैंककाे १७औँ वार्षिक साधारण सभा कार्तिक १६ गते मंगलबार, लैनचाैर ब्यांक्वेट, लैनचाैर, काठमाडाैँमा सम्पन्न भइसकेकाे छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले कार्तिक ५ गतेदेखि कार्तिक १६ गतेसम्म बुकक्लोज गरेको थियाे । त्यसैले, कार्तिक ४ गतेसम्म नेप्सेमा काराेबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।