६ जीवन बीमा कम्पनीले गरे लाभांश प्रस्ताव, सबैभन्दा बढी एशियन लाईफको

६ जीवन बीमा कम्पनीले गरे लाभांश प्रस्ताव, सबैभन्दा बढी एशियन लाईफको


बैंकिङ्ग समाचार, काठमाडौं ।
हालसम्म सूचीकृत जीवन बीमा कम्पनीहरुमध्य ६ जीवन बीमा कम्पनीहरुले मात्र लाभांश प्रस्ताव सार्वजनिक गरेका छन् । रिलायन्स लाईफ, एशियन लाईफ, प्राइम लाईफ, सूर्या लाईफ र गुराँस लाईफले लाभांश प्रस्ताव सार्वजनिक गरेका हुन । यी मध्य गुराँस लाईफको प्रस्तावित लाभांश भने आर्थिक वर्ष ०७५/७६ को हो । बाँकी कम्पनीहरुले भने आर्थिक वर्ष ०७६/७७ को लाभांश सार्वजनिक गरेका हुन् ।  

गुराँस लाईफ इन्स्योरेन्सले साउन २४ गतेको सञ्चालक समितिको बैठकले गरेको ५ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २९ प्रतिशत नगद लाभांश प्रस्ताव मंसिर १० गते वार्षिक साधारण सभा मार्फत पारित गर्दैछ । हाल यस कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ९७ करोड ८५ लाख ८४ हजार छ ।  सोही पूँजीको आधारमा गुराँस लाईफले ५ दशमलव ५० प्रतिशत बोनस शेयर वितरण गरी जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने रू. २ अर्ब बराबरको चुक्तापूँजी कायम गर्नेछ ।

अघिल्लो आर्थिक वर्ष ०७६/७७ को लाभांश सार्वजनिक गर्ने पाँच कम्पनीहरुमध्य प्राइम लाईफ इन्स्योरेन्सले मंसिर १९ गते साधारण सभा गर्दैछ । उक्त सभाबाट कम्पनीले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७८ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्नेछ । हाल प्राइम लाईफ इन्स्योरेन्सको चुक्तापूँजी रू. २ अर्ब ४१ करोड ७० लाख ५७ हजार छ ।

यस वर्ष लाभांश सार्वजनिक गर्ने जीवन बीमा कम्पनीहरुमा एशियन लाईफ इन्स्योरेन्सले सबैभन्दा बढी प्रस्ताव गरेको छ । कम्पनीको कात्तिक ३० गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. २ अर्ब १ करोड ७ लाख ६० हजारको आधारमा २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत २ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।  त्यस्तै यो वर्ष सूर्या लाईफले १२ दशमलव ७० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । हाल यस कम्पनीको चुक्तापूँजी रू. २ अर्ब २६ करोड २८ लाख ९४ हजार रहेको छ ।  

हालसम्म लाभांश सार्वजनिक गर्ने ६ जीवन बीमा कम्पनीहरुमध्य दुई कम्पनी भने नयाँ जीवन बीमा कम्पनी रहेका छन् । रिलायन्स लाईफ र ज्योति लाईफले पनि लाभांश प्रस्ताव सार्वजनिक गरिसकेका हुन । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट कुल १० दशमलव ५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको कात्तिक १४ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. २ अर्र्ब २०ं करोडको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ५ दशमलव ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।  

त्यस्तै रिलायन्स लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट कर समेत ५ दशमलव २६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको असोज १८ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ५ दशमलव २६ प्रतिशत कर समेत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब १० करोड रहेको छ ।