मर्जरमा जाने प्रस्ताव सहित नेप्सले डाक्यो साधारण सभा

मर्जरमा जाने प्रस्ताव सहित नेप्सले डाक्यो साधारण सभा


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल इलेक्ट्रोनिक तथा पेमेन्ट सिस्टम्स् लिमिटेड (नेप्स) ले मंसिर २७ गते मंगलबार कम्पनीकाे आठौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।
कम्पनी सञ्चालक समितिको मंसिर ५ गते सम्पन्न १३५ औं बैठकले उक्त दिन अपराह्न ४ बजे आरण्य बुटिक होटल हात्तिसार नक्सालमा साधारण सभा डाकेको हो ।

साधारण सभाको विशेष प्रस्तावमा नेप्स र अन्य उपयुक्त संस्था एक आपसमा गाभ्न र गाभिन (मर्जर गर्न वा प्राप्ति गर्न) उपयुक्त देखिएमा, संस्थाको चल अचल सम्पति र दायित्व तथा कारोवारको मुल्यांकनका लागि मुल्याकंनकर्ता नियुक्ति गर्ने, गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धि सम्झौता गर्न तथा सो सम्वन्धमा आवश्यक सम्पुर्ण कार्य अगाडी बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

यसैगरी संस्थापक शेयरधनीहरूवाट प्रतिनिधित्व गर्ने ६ जना सञ्चालकहरूको निर्वाचन गरि परिणाम घोषणा गर्ने प्रस्ताव पनि सभामा रहेको छ ।
यस्तै सभामा आर्थिक वर्ष २०७७।७८ को संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि सो लाई पारित गर्ने, लेखा परिक्षकको प्रतिवेदन सहितको २०७८ असार मसान्तको वासलात, तथा सोहि मितिमा समाप्त आर्थिक बर्ष २०७७।७८ को नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रबाह विवरण छलफल गरि स्वीकृत गर्ने प्रस्ताव पनि रहेको छ ।

सभाले कम्पनी ऐन २०६३ को दफा १११ वमोजिम आर्थिक वर्ष २०७८/७९ का लागि लेखा परीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

नेप्स नेपाल राष्ट्र बैंकबाट “भुक्तानी प्रणाली सञ्चालक को कार्य गर्न अनुमति प्राप्त संस्था हो ।  १५ वटा बैंक तथा वित्तीय संस्थाहरुद्धारा संस्थापित एवं संचालित नेप्स, एक पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सेक्यूरिटी स्ट्याण्डर्ड (पीसीआई डीएसएस भर्सन ३.२)र पीसीआई पीन प्रमाणित कम्पनी हो । यो कम्पनी बैंक तथा वित्तीय संस्थाहरुको लागि इलेक्ट्रोनिक भुक्तानी सेवा प्रदान गर्ने साझा प्लेटफर्मको रुपमा विस्तारित हुँदै आएको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुलाई विभिन्न कार्ड सेवाहरुका लागि होस्टिङ्ग र स्वीचिङ्गको सेवा समेत प्रदान गर्दै आएको छ ।

प्राविधिको क्षेत्रमा दुई दशक बढीको अनुभव भएका नारायण प्रकाश भुजु कम्पनीको प्रमुख कार्यकारी अधिकृत छन् । उनी यसअघि माछापुच्छ्रे बैंकमा प्रमुख डिजिटल बैंकिङ अधिकृतका रुपमा कार्यरत थिए ।