डिम्याट खाता खोल्नेको संख्या ४६ लाख नाघ्यो

डिम्याट खाता खोल्नेको संख्या ४६ लाख नाघ्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
पछिल्लो समय शेयर बजार र सार्वजनिक शेयर  निष्कासन (आईपीओ)मा सर्वसाधारणको आकर्षण बढ्दो रहेको छ । सर्वसाधरणको शेयर प्रति आकर्षण बढेसंगै डिम्याट खाता खोल्नेको संख्या पनि ह्वात्तै बढेको हो । 

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार हालसम्म डिम्याट खाताको संख्या ४६ लाख ६७ हजार ७०८ पुगेको हो । त्यस्तै, मेरो शेयर प्रयोगकर्ताको संख्या पनि ३७ लाख ८२ हजार एक सय ६२ पुगेको छ । यता, डिम्याटमा भएका शेयर संख्या पनि ७ अर्ब ८२ करोड ६९ लाख ७३ हजार ४१६ रहेको छ । 

कसरी खोल्ने डिम्याट खाता?  
यो खाता विभिन्न बैंकका सहायक कम्पनीहरुमा खोल्न सकिन्छ । सहायक कम्पनी भएका बैंकहरुले नै यस्तो खाता खोलिदिन्छन् । ब्रोकर कम्पनीहरुमार्फत पनि यस्तो खाता खोल्न सकिन्छ । यो खाता खोलिदिने संस्थालाई निक्षेप सदस्य (डिपोजिटरी पार्टिसिपेन्ट) भनिन्छ । 

७६ वटा यस्ता निक्षेप सदस्य छन् । यस्तो खाता खोल्नका लागि बैंक खाता नम्वर, नागरिकता प्रमाणपत्रको फोटोकपी र फोटो चाहिन्छ । आफूले कारोबार गर्ने बैंक वा ब्रोकर कम्पनीमै यस्तो खाता खोल्न सकिन्छ । 

धेरैले यस्तो खाता खोलेवापत कुनै शुल्क लिँदैनन् । केहीले एक सय रुपैयाँसम्म शुल्क लिन सक्नेछन् । डिम्याट खाता खोलेपछि तपाईंलाई १६ अंकको डिम्याट खाता नम्वर प्राप्त हुन्छ । सो नम्वर पाएपछि मात्रै तपाईंले प्राथमिक शेयर भर्न वा दोस्रो बजार (नेप्से)बाट खरिदबिक्री गर्न सक्नुहुनेछ ।  

आफ्नो डिम्याट खातामा कुन कुन कम्पनीको, कति शेयर छ ? त्यसको अहिलेको बजार मूल्य कति छ, खातामा शेयर जम्मा भए/नभएको जस्ता विवरण पनि आफूले नै मोबाइल वा ल्यापटपबाट हेर्न सकिन्छ । यसका लागि डिम्याट खाता खोलिदिने संस्थाले डिम्याट एकाउन्ट लगइनको युजरनेम र पासवर्ड दिन्छन् ।