मेट लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क एक अर्ब ३० करोड माथि, नाफामा भने कमी

मेट लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क एक अर्ब ३० करोड माथि, नाफामा भने कमी


बैंकिङ्ग समाचार, काठमाडौं ।
मेट लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षका पहिलो त्रैमासमा एक अर्ब ३० करोड ३५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको यहि अवधिको तुलनामा १३ करोड ४९ लाख रुपैयाँले बढी हो ।

गत वर्षको पहिलो त्रैमासमा कम्पनीले एक अर्ब १६ करोड ६८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
इन्स्योरेन्सले यस अवधिमा पुर्नबीमा कमिशन वापत २ करोड ९८ लाख, लगानी, कर्जा तथा अन्य आम्दानीबाट ४२ करोड ४९ लाख रुपैयाँ र बीमालेख धितोमा ९७ करोड ८९ लाख रुपैयाँ लगानी गरी ३ करोड १८ लाख रुपैयाँ आम्दानी गरेको छ ।

यस अवधिमा कम्पनीको खुद नाफा भने घटेको छ । कम्पनीको खुद नाफा ७९ लाख ८७ हजार रुपैयाँले घटेर ६ करोड ७५ लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ७ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चुक्ता पूँजी नखुलाएको इन्स्योरेन्सको जगेडा कोष २ अर्ब ७४ करोड रुपैयाँ, जीवन बीमा कोषमा १९ अर्ब ७४ करोड ४५ लाख रुपैयाँ र महाविपत्ती कोषमा २७ करोड ३९ लाख रुपैयाँ सञ्चित छ ।

यस अवधिमा कम्पनीले १२ लाख १९ हजार ६४९ बीमालेख जारी गरी कूल १ अर्ब ३५ करोड १४ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क संकलन गरेको छ ।
इन्स्योरेन्सले यस अवधिमा २ हजार ७१३ दाबी वापत १ अर्ब ९ करोड ६६ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ६२२ दाबीका लागि ७४ करोड ४१ लाख रुपैयाँ भुक्तानी गर्ने बाँकी छ ।