कुमारी बैंकका कामू सीइओ अनुजमणि तिमिल्सिनामाथि अनुसन्धान शुरु

कुमारी बैंकका कामू सीइओ अनुजमणि तिमिल्सिनामाथि अनुसन्धान शुरु


बैंकिङ्ग समाचार, काठमाडौं ।
कुमारी बैंकका कामू प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनामाथि १९ करोड ऋण प्रकरणको विषयमा अनुसन्धान शुरु भएको छ ।

गायक योगेश्वर अमात्यको जग्गा धितो राखेर कुमारी बैंकबाट एसके महर्जन र मुक्तिलाल गौतमले १९ करोड ऋण निकालेका थिए । बैंकले धितोमा राखेको जग्गा नक्कली भएको भेटिएपछि महर्जनको अर्को जग्गा धितो राखेर ऋण उठाएको थियो ।

यो प्रकरणमा बिचौलियाको भूमिकामा रहेका कुसन महर्जन र तिमिल्सिनाको सम्बन्ध समेत भेटिएको छ । नक्कली धितो राखेर ऋणीले ऋण लिएपछि बैंकले प्रहरीलाई खबर गर्नुपर्ने थियो । तर,कुमारी बैंकले यो घटना लुकाउन खोजेको थियो ।

गायक योगेश्वर अमात्यले आफ्नो जग्गा धितो राखेर अरुले ऋण लिएको भन्दै प्रहरीमा उजुरी गरेपछि मात्र घटना बाहिर आएको हो ।
अहिलेसम्म अनुसन्धानमा कामू प्रमुख कार्यकारी अधिकृत रहेको तिमिल्सिनाले कमजोरी गरेको भेटिएको छ ।

‘अहिलेसम्मको अनुसन्धानले तिमिल्सिना आफै संलग्न भएको पुष्टी नभएपनि उनले लापरवाही गरेको भेटिएको छ । अनुसन्धानलाई सहयोग गर्नको लागि तिमिल्सिनाले पद छाड्दा राम्रो हुन्छ,’राष्ट्र बैंक स्रोतले भन्यो ।

बैंकका सञ्चालक समितिले पनि तिमिल्सिनालाई राजीनामा दिएर अनुसन्धान प्रक्रियालाई सहयोग गर्न भनेका छन् ।

कुमारी बैंकमा साउनदेखि तिमिल्सिना कामू सीइओको जिम्मेवारीमा छन् । साउनमा नै सो ऋण प्रवाह भएको भेटिएको छ ।

योगेश्वर अमात्यको जग्गा धितो राखेर ऋण लिने महर्जन र गौतम घरजग्गा व्यवसायमा संलग्न रहेको भेटिएको छ ।

कुमारी बैंकका कामू तिमिल्सिनालाई प्रहरीले २ बयानका लागि बोलाएको थियो । अहिले नेपाल राष्ट्र बैंकले समेत कुमारी बैंकमा १९ करोड ऋण प्रकरणको विषयमा स्थलगत अध्ययन गरेको छ ।