१६ लाख ७९ हजार कित्ता एफपीओ निष्कासन गर्ने तयारीमा ३ लघुवित्त कम्पनी

१६ लाख ७९ हजार कित्ता एफपीओ निष्कासन गर्ने तयारीमा ३ लघुवित्त कम्पनी


बैंकिङ्ग समाचार, काठमाडौं । 
तीन ओटा लघुवित्त वित्तीय संस्था १६ लाख ७९ हजार २२४ कित्ता एफपीओ निष्कासन गर्ने तयारीमा रहेका छन् । 

नेपाल धितोपत्र बोर्डका अनुसार किसान लघुवित्त वित्तीय संस्था, नयाँ सारथी लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्थाले उक्त एफपीओ निष्कासन गर्ने तयारीमा रहेका हुन । ती तीन ओटै कम्पनीले एफपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेका छन् । 

धितोपत्र बोर्डबाट स्वीकृती पाएपछि मात्र ती कम्पनीहरुले एफपीओ निष्कासन गर्नेछन् । तीन ओटा कम्पनीहरु मध्ये सबैभन्दा बढी किसान लघुवित्तले प्रतिकित्ता रू. १२५ मा १२ लाख ९८ हजार २५९ कित्ता एफपीओ निष्कासन गर्ने छ ।

उक्त कम्पनीले एफपीओ निष्कासन गर्नका लागि गत असार २९ गते धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । एनआरएन लघुवित्त वित्तीय संस्थाले दिब्य लघुवित्त वित्तीय संस्था, किसान माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थालाई गाभेपश्चात  एनआरएन लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार शुरु भएको थियो । पछि कम्पनीले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार नाम परिवर्तन गरी किसान लघुवित्त वित्तीय संस्थाबाट कारोबार गर्दै आएको छ ।

त्यसैगरी नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले प्रतिकित्ता रू. ११६ मा ३ लाख २९ हजार ६४९ कित्ता एफपीओ निष्कासन गर्नका लागि गत भदौ ९ गते धितोपत्र बोर्डमा निवेदन दिएको छ । नयाँ नेपाल लघुवित्त वित्तीय संस्था र सारथी लघुवित्त वित्तीय संस्था बीच एक आपसमा गाभिएसँगै बनेको नयाँ सारथी लघुवित्त वित्तीय  संस्थाले एफपीओ निष्कासन गर्न लागेको हो । विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । 

त्यसैगरी मिर्मिरे लघुवित्तले प्रतिकित्ता रू. १७७ दशमलव ८ मा ५१ हजार ३१६ कित्ता एफपीओ निष्कासन गर्नका लागि गत कात्तिक २३ गते धितोपत्र बोर्डमा निवेदन दिएको छ । शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

उक्त एफपीओ निष्कासन गर्नका लागि कम्पनीले इक्रा नेपालमा रेटिङ गराइसकेको छ । इक्रा नेपालले कम्पनीले निष्कासन गर्न लागेको एफपीओलाई इक्रा एनपी इस्यूआर बीबी रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको देखाँउछ । कम्पनीले नागबेली लघुवित्त वित्तीय संस्था र स्वेडा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरिसकेको छ ।

स्वेडा लघुवित्त वित्तीय संस्था दोस्रो बजारमा सूचीकृत कम्पनी भने होइन । सूचीकृत कम्पनीले सूचीकृत नभएको कम्पनीलाई प्राप्ति गरेपश्चात शेयर संरचना मिलाउनका लागि एफपीओ निष्कासन गर्नु पर्ने कानूनी प्रावधान भएकाले ती तीन ओटा कम्पनीले एफपीओ निष्कासन गर्न लागेका हुन् ।