बीमा समितिले सर्भेयर तालिममा सहभागी नक्कली प्रशिक्षार्थीलाई गर्यो कारवाही

बीमा समितिले सर्भेयर तालिममा सहभागी नक्कली प्रशिक्षार्थीलाई गर्यो कारवाही


बैंकिङ्ग समाचार, काठमाडौं । 
बीमा समितिले सञ्चालन गरेको बीमा सर्भेयर सम्बन्धी तालिममा नक्कली प्रशिक्षार्थी सहभागी भई तालिम लिएको भेटिएको छ । बीमा समितिले आन्तरिक अनुसन्धानको क्रममा नक्कली प्रशिक्षार्थीले तालिम लिएको फेला परेपछि तालिममा सहभागी हुने नक्कली प्रशिक्षार्थी र तालिम लिन चाहने दुवैलाई पाँच वर्षसम्म कुनै पनि तालिममा सहभागी हुन नपाउने गरी कारवाही गरेको हो ।

समितिले गत कार्तिक ११ गतेदेखि १५ गतेसम्म सञ्चालन गरेको सर्भेयर तालिममा सहभागी हुन आवेदन दिने बीरगन्ज नपा–१५ का सौरभराज बिष्टले आवेदन दिएका थिए । तर, तालिम दिन भने बिष्टको नाममा काठमाडौं महानगरपालिका ३२ निवासी सुसन श्रेष्ठ सहभागी भएको फेला परेको छ ।

समितिले आज दुवै जनालाई कारवाही गर्दै आगामी पाँच वर्षसम्म कुनै पनि पेशागत तथा सर्भेयर वा अन्य तालिममा सहभागी हुन नपाउने गरी कारवाही गर्ने निर्णय गरेको हो ।
बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले नक्कली प्रशिक्षार्थी सहभागी भई प्रमाणपत्र लिनु अघि नै बीमा समितिले शंका लागेर जाँच बुझ गर्दा नक्कली भन्ने पुष्टि भएपछि कारवाही गरिएको बताए ।

बीमा सर्भेयर जस्तै बीमा अभिकर्ताको तालिममा समेत नक्कली प्रशिक्षार्थीले तालिम लिएर अभिकर्ताको लाईसेन्स लिने तथा तालिम नै नलिई बीमा कम्पनीको सिफारिसको आधारमा अभिकर्ता लाइसेन्स लिने क्रम बढ्दो छ । आजको कारवाहीसँगै नक्कली अभिकर्ता तालिममा सहभागी हुने तथा तालिम नै नलिई अभिकर्ताको लाईसेन्स लिनेहरुलाई समेत कारवाहीको दायरामा आउने विश्वास गएिको छ ।