निर्जीवन बीमा कम्पनीको करिब २२ अर्ब दाबी भुक्तानी गर्न बाँकी

निर्जीवन बीमा कम्पनीको करिब २२ अर्ब दाबी भुक्तानी गर्न बाँकी


बैंकिङ्ग समाचार, काठमाडौं ।
बीमा भविष्यमा आइपर्ने सक्ने जोखिमलाई सामना गर्न सहज होस् भन्नका लागि गरिन्छ । भविष्यमा भवितव्यरुपमा क्षति भएमा बीमाले आर्थिक सुरक्षण गर्छ भन्ने आधारमा बीमितले बीमालेख खरिद गर्छन् । तर, बीमा गरेका बीमितले आफूले पाउनु पर्ने रकम समयमै पाउन नसकिरहेको अवस्था छ ।

चालु आवको पहिलो त्रैमासको वित्तीय विवरणलाई हेर्दा कम्पनीहरुले १ लाख २ हजार ३३६ बीमा दाबी वापत २१ अर्ब ८१ करोड २० लाख रुपैयाँ भुक्तान गर्न सकेका छैनन् ।
जुन गत आवको यसै अवधिको तुलनामा ८३.७८ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीहरुले भुक्तानी गर्न बाँकी रहेको रकम ११ अर्ब ८६ करोड रुपैयाँ थियो ।

कोभिड बीमाको भुक्तानी हुन बाँकी रकम समेत समावेश गरेका कारणले भुक्तानी गर्न बाँकी रहेको रकम बढी रहेको कम्पनीहरुको दाबी छ ।
सञ्चालनमा रहेका १८ निर्जीवन बीमा कम्पनीले चालु आवको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेका छन् ।

कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरणअनुसार चालु आवको पहिलो त्रैमासमा ९१ करोड ५१ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।

गत आवको पहिलो त्रैमासको अवधिमा कम्पनीहरुले ९३ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।

बीमा कम्पनीहरूले दावी भुक्तानीलाई प्राथमिकतामा राखेको बताउँदै आए पनि भुक्तानी हुन बाँकी दाबी वापतको रकम भने बढी रहेको तथ्यांकले देखाएको छ ।

बीमा समितिले दाबी भुक्तानी प्रक्रियालाई छिटो, छरितो पार्ने उद्देश्यका साथ दावी भुक्तानी मार्गदर्शन समेत जारी गरि कार्यान्वयनमा ल्याएको थियो ।

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समेत बीमा दाबी भुक्तानीका आधारमा बीमा कम्पनीहरुको वर्गीकरण गरिने बताउँदै आएका छन् ।

कम्पनी समक्ष प्रतिवेदन पेश गरेको साधारणतया ३५ दिनभित्र बीमितलाई भुक्तानी गर्नुपर्ने व्यवस्था छ ।

दाबी भुक्तानीका लागि बीमितको निवेदन प्राप्त भएमा कम्पनीले आवश्यक जाँचबुझ गर्न घटना स्थलमा सर्भेयर खटाउँछन् ।

बीमा ऐन २०४९ अनुसार कुनै दुर्घटना भएको जानकारी पाउने बित्तिकै बीमकले सर्भेयर खटाउनु पर्ने व्यवस्था छ ।

सर्भेयरले आवश्यक जाँचबुझ गरी १५ दिनभित्र बीमकको दायित्व निर्धारण गरी बीमकसमक्ष प्रतिवेदन पेस गरेपछि ३५ दिनभित्र बीमितलाई दाबी भुक्तानी गर्नुपर्ने व्यवस्था छ ।

४ अर्ब ९३ करोड भुक्तानी
चालु आवको पहिलो त्रैमासको अवधिमा १८ निर्जीवन बीमा कम्पनीहरुले ४ अर्ब ९३ करोड रुपैयाँ भुक्तानी गरेका छन् ।

कम्पनीहरुले असोज मसान्तसम्मको अवधिमा २८ हजार ३८९ वटा बीमा दाबी वापत सो रकम भुक्तानी गरेका हुन् ।

गत आवको यसै अवधिमा कम्पनीहरुले १९ हजार ३५५ वटा बीमा दाबी वापत ३ अर्ब ९४ करोड रुपैयाँ भुक्तानी गरेका थिए ।