साताको अन्तिम कारोबार दिन नेप्सेमा करेक्सन

साताको अन्तिम कारोबार दिन नेप्सेमा करेक्सन


बैंकिङ्ग समाचार, काठमाडौं ।
साताको अन्तिम कारोबार दिन नेप्सेमा करेक्सन भएको छ। पछिल्ला तीन कारोबार दिनदेखि उकालो लागिरहेको नेप्सेमा यस दिन करेक्सन भएको हो।
तीन कारोबार दिनमा नेप्से ११२.६१ अंक बढेको थियो। बजार बढेको मौकामा लगानीकर्ताहरु नाफा सुरक्षित गर्नतर्फ लागेपछि यस दिन बजारमा करेक्सन देखिएको हो।

बिहीबार नेप्से परिसूचक ३२.३९ अंक घटेर २७६९.१३ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ४.२५ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.६७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०४ अंक घटेको छ।

यस दिन बजारमा २२४ कम्पनीको ७० हजार ३७ पटकको कारोबारमा ६ खर्ब २७ करोड १८ लाख ६७ हजार रुपैयाँ बराबरको ९८ लाख ६२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से परिसूचक घटेपनि यस दिन दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन मानुषी लघुवित्त र तेह्रथुम पावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन नारायणी डेभलपमेन्ट बैंक र फर्स्ट माइक्रोफाइनान्सको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबारमा आएको मैलुङ खोला जलविद्युतको शेयरमूल्य यस दिन सर्वाधिक ५ प्रतिशत घटेको छ। त्यसैगरी, शिवश्री हाइड्रोपावर, माउन्टेन इनर्जि हाइड्रोपावर, हिमालयन उर्जा, गुडविल फाइनान्स र माउन्टेन हाइड्रोको शेयरमूल्य यस दिन ४ प्रतिशतभन्दा बढी घटेको छ।

यस दिन १३ वटै उपसमूहका परिसूचक घटेका छन्। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.८४ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन व्यापार र विकास बैंक उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, होटल तथा पर्यटन, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, जीवन बीमा र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६० करोड ४४ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन महालक्ष्मी विकास बैंकको ५७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

\"\"