राष्ट्रिय बीमा संस्थानको नाफा ५२ % बढ्यो

राष्ट्रिय बीमा संस्थानको नाफा ५२ % बढ्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
राष्ट्रिय बीमा संस्थानले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ । 

उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवमा ५२ प्रतिशत वृद्धि भएको हो । गत आवमा रू. १ करोड २ लाख ७२ हजार नाफा कमाएको कम्पनीले चालू आवमा बढेर रू. १ करोड ५६ लाख ४७ हजार कमाएको छ ।
चालू आवमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको आम्दानी ३४ प्रतिशत वृद्धि भएको छ । 

कम्पनीले गत आवमा रू. १ करोड ८८ लाख ३८ हजार आम्दानी गरेकोमा चालू आवमा बढेर रू. २ करोड ५३ लाख ८८ हजार पुगेको हो । त्यसैगरी कम्पनीको चुक्तापूँजी रू. १८ करोड १० लाख रहेको छ भने जगेडामा रू. ३५ करोड ७७ लाख ७८ हजार र बीमा कोषमा रू. ३७ र्ब १४ करोड ३९ लाख सञ्चित रहेको छ ।

जगेडामा गत आवको तुलनामा चालू आवमा २० प्रतिशत र जीवन बीमा कोष २१ प्रतिशतले वृद्धि भएको हो । त्यसैगरी कम्पनीले रू. ४ अर्ब ५३ करोड ३१ लाख १० हजार बीमा शुल्क खुद आर्जन गरेको छ । यो बीमा शुल्क गत आवको तुलनामा ७ प्रतिशत वृद्धि भएको हो । गत आवमा कम्पनीले रू.४ अर्ब २१ करोड १७ लाख ४४ हजार बीमा शुल्क खुद आर्जन गरेको थियो ।