१६ विकास बैंकहरुमध्ये तीन बैंक घाटामा, नाफा कमाउने दोस्रो स्थानमा महालक्ष्मी

१६ विकास बैंकहरुमध्ये तीन बैंक घाटामा, नाफा कमाउने दोस्रो स्थानमा महालक्ष्मी


बैंकिङ्ग समाचार, काठमाडौं ।
चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सूचीकृत १६ ओटै विकास बैंकले सार्वजनिक गरिसकेका छन् । ती बैंकहरुको उक्त अवधिसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार १३ बैंकहरु खुद नाफामा रहेका छन् भने तीन बैंकहरुले खुद नोक्सानी व्यहोरेका छन् । पहिलो त्रैमाससम्म सप्तकोशी डेभलपमेण्ट बैंक, सिन्धु बैंक र नारायणी डेभलपमेण्ट बैंकले खुद नोक्सानी व्यहोरेका छन् भने बाँकी बैंकहरु नाफामै रहेका हुन । 

यस वर्ष सबैभन्दा बढी नोक्सानी सप्तकोशी डेभलपमेण्ट बैंकको रहेको छ । यस बैंकले रू. ११ करोड १ लाख १७ हजार खुद नोक्सानी व्यहोरेको हो । त्यस्तै सिन्धु विकास बैंकले ६६ लाख ६९ हजार रुपैयाँ र नारायणी डेभलपमेण्ट बैंकले ९ लाख ११ हजार रुपैया खुद नोक्सानी व्इहोरेको हो । गत वर्षभन्दा यस वर्ष सप्तकोशी डेभलपमेण्ट बैंकको खुद नोक्सानी २०४ दशमलव ०२ प्रतिशतले बढेको छ भने सिन्धु विकास बैंकको ७२ दशमलव ३८ प्रतिशत र नारायणी डेभलपमेण्ट बैंकको ८० दशमलव ६३ प्रतिशत घटेको छ ।

विकास बैंकहरुमध्य सबैभन्दा बढी मुक्तिनाथ विकास बैंकले खुद नाफा कमाएको छ । मुक्तिनाथ विकास बैंकले ३४ करोड ५५ लाख ८७ हजार रुपैया खुद नाफा कमाएको हो । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा १७ प्रतिशत वृद्धि भएको हो । कम्पनीले गत आवको पहिलो त्रैमासमा  २९ करोड ४१ लाख रुपैया नाफा कमाएको थियो । मुक्तिनाथ विकास बैंकपछि खुद नाफा बढी गर्ने दोस्रोमा महालक्ष्मी विकास बैंक रहेको छ ।

यस बैंकले २३ करोड ५ लाख रुपैया खुद नाफा कमाएको हो । नबिल बैंकसँग मर्जको हल्ला चलेको महालक्ष्मी विकास बैंकले विकास बैंकहरुमध्ये नाफा कमाउनेमा दोस्रो स्थान हासिल गरेको छ । त्यस्तै बैंकले करिब २० प्रतिशत लाभांश दिन सक्ने देखिन्छ । 

यस वर्ष खुद नाफा गत वर्षको तुलनामा यस वर्ष बृद्धि गर्नेमा भने कर्णाली डेभलपमेण्ट बैंक पहिलो नम्बरमा रहेको छ । कर्णाली डेभलपमेण्ट बैंकले गत वर्षभन्दा यस वर्ष ५५८ दशमलव ५३  प्रतिशत बढी खुद नाफा गरेको हो । गत वर्ष यस अवधिसम्म ३४ लाख ४८ हजार रुपैया खुद नाफा गरेको बैंकले  यस वर्ष २ करोड २७ लाख ६ हजार रुपैया यो नाफा गरेको हो । 

\"\"