‘स्वेच्छाले बीमा गर्नेको संख्या ५ प्रतिशत मात्रै’

‘स्वेच्छाले बीमा गर्नेको संख्या ५ प्रतिशत मात्रै’


काठमाडौं–नेपालकै ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत असार ३१ गते प्रविणरमण पराजुलीलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्ति गर्ने निर्णय गरेको थियो । नेपालमा १० कक्षासम्म अध्ययन गरेर उच्च शिक्षाका लागि भारत गएका पराजुलीले त्यहाँ स्नातकसम्मको अध्ययन गरेर काठमाडौं विश्वविद्यालयबाट फाइनान्समा स्नातकोत्तर गरेका हुन् । पराजुलीले आफ्नो करिअर भने बैंकबाट सुरु गरे । हाल नेपाल लाइफको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी सम्हालिरहेका पराजुलीले नेपाल लाइफ मार्फत बीमा क्षेत्रका विभिन्न पक्षमा सकारात्मक परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेलिरहेका छन् । रिलायन्स लाइफमा जीवन बीमा र मार्केटिङ्ग बुझेका उनले बीमा क्षेत्रले सम्पत्ति शुद्धिकरण निवारणमा कस्तो भूमिका खेलेको छ ? बीमा जोखिमको व्यवस्थापन हो कि लगानी हो ? बीमाको पहुँच बढाउन बीमा कम्पनीको भूमिका कस्तो ? यिनै विषयमा आधारित रहेर नमुना केसीले लिएको अन्तर्वाताको सम्पादित अंश :

बीमा लगानी हो भनिरहँदा यसले बीमाको पहुँच वृद्धिमा असर गरेको छैन ?
लगानी बीमा कम्पनीले गर्ने हो । ग्राहकले गर्ने बीमा भने बचत हो । बीमा कम्पनीले गर्न लगानी ग्राहकबाट प्राप्त प्रिमियमलाई प्रभावकारी तरिकाले प्रतिफल निकालेर वोनस मार्फत दिने हो । यसरी लगानीको रिस्क कहाँ कति गर्ने, कस्तो क्षेत्रमा गर्ने भन्ने कुरा प्राधिकरणले तय गरेको छ । त्यसै अनुसार नेपाल लाइफ इन्स्योरेन्स सबै कुरामा अघि छ । २४ वर्षसम्ममा बीमा गराएर अर्बौंको भुक्तानी गरेको छ ।

बीमा क्षेत्रले सम्पत्ति शुद्धिकरण निवारणमा कस्तो भूमिका खेलेको छ ? यसका चुनौतीहरू के के हुन् ?
बीमा क्षेत्र बैंक जस्तो फ्रन्ट लाइन रहेको जोखिमपूर्ण संरचना होइन तर केही कारोबारमा भने हामी सर्तक हुनुपर्छ । नेपालको सन्दर्भमा प्रोडक्टको हिसाबमा पनि राम्रो छ । मान्छे एउटा सिस्टम भित्र आए पछि १ लाखसम्मको रकम ट्रान्जेक्सन लिइरहेका छौं । त्यसलाई पनि हामीले सकेसम्म बैंकमा नै डिपोजिट गर्नु भनिरहेका हुन्छौं । बाँकी सबै कारोबारको लागि बैंक नै प्रयोग गरिरहेका छौं । बैंक आफैमा एमएल सुरक्षाको थ्रेडहरु छ । त्यो च्यानलबाट हाम्रो सिस्टममा पैसा आउने भएकाले बीमा क्षेत्र दोस्रो तहको हो । त्यसकारण बीमा क्षेत्रमा बैंकिङ्ग कारोबार हुने भएकाले सुरक्षित नै छ । चुनौती त प्रणालीगत संरचना कतिको भरपर्दो राख्ने भन्नेमा भर पर्छ । डिजिटल कारोबार, नियमन कस्तो राख्ने भन्नेमा भर पर्छ । पछिल्लो समय सबै चुनौती तथा कमजोरीलाई कम गर्दै लगिरहेका छौं ।

जीवन बीमा कम्पनीहरुमा अभिकर्ता र कर्मचारीको मिलेमतोमा उधारोमा पोलिसी बिक्री भइरहेका छन् भन्ने सुनिन्छ, यसलाई कसरी चित्रण गर्नुहुन्छ ?
सबै जीवन बीमा कम्पनीको प्रतिनिधित्व गरेर म केही भन्न सक्दिन । आफ्नो संस्थाको कुरा गर्नुपर्दा उधारोमा पोलिसी बिक्रीमा शुन्य सहभागिता नै छ । कहिलेकाहीँ टेक्निकल समस्या भइहाल्यो भने पनि किन भयो, कसरी भयो सबै स्पष्टिकरणसहित काम गरेर कम गरिरहेका हुन्छौं ।

बीमा जोखिमको व्यवस्थापन हो कि, लगानी हो ? यसलाई किन लगानी भनेर बेचिन्छ ?
नियमलाई हेर्ने हो भने बीमा भनेको जोखिम व्यवस्थापन नै हो । प्राथमिकताका आधरमा नेपाल तथा साउथ एशियाकै अभ्यासको कुरा गर्दा जोखिम कै व्यवस्थापन हो । तर हाम्रो जस्तो अर्थतन्त्र भएको देशमा जोखिमको व्यवस्थापन सँगै लगानी पनि हो भन्न सकिन्छ । कुल पोर्टफोलियोलाई हेर्ने हो भने ९५ प्रतिशत भन्दा माथि बचत गर्ने पक्ष देखिन्छ । त्यसैले बीमालाई जोखिमको व्यवस्थापन मात्र भन्न मिल्दैन ।

नेपालका बीमा कम्पनीहरुले टर्म इन्स्योरेन्स (अवधि बीमा योजना) भन्दा पनि एन्डोमेन्ट इन्स्योरेन्स ( बन्दोबस्त बीमा ) बेच्न बढी ध्यान देखिएको जस्तो देखिन्छ नि ?
सर्वप्रथम टर्म इन्स्योरेन्स (अवधि बीमा योजना) के का लागि र एन्डोमेन्ट इन्स्योरेन्स ( बन्दोबस्त बीमा ) के का लागि भनेर छुट्याउनु पर्ने हुन्छ । नेपालको सन्दर्भमा लगभग ९५ प्रतिशत नै बैंकमा बचत गर्ने गर्छन् । जोखिम व्यवस्थापनसँगै उसले व्यक्तिगत सुरक्षा पाइरहेको छ भने किन एन्डोमेन्ट इन्स्योरेन्स (बन्दोबस्त बीमा ) नकिन्ने । भविष्यको लागि सोचिनेमध्ये एउटा पक्ष बीमा पनि हो ।

के बीमाप्रति आम मानिसलाई आकर्षित गर्न नसकिएको हो ?
एउटा पक्षले हेर्ने हो भने सचेतना कै कारणले बीमाको पहुँचमा कमी भएको हो । बीमाको क्षेत्रमा पनि आवश्यकता महसुस गरेर मलाई बीमा गर्नुपर्यो भनेर आउने संख्या नै ५ प्रतिशत मात्र होलान् । ९५ प्रतिशत हामीहरुले नै सचेतना जगाएर प्रोडक्ट बेचिरहेका हुन्छौं । ग्रामीण भेग देखि लिएर सबै क्षेत्रमा हामीले सचेतना कार्यक्रम गर्ने गरेका छौं । यस क्षेत्रमा पक्कै पनि आर्थिक गतिविधिले महत्व राखेको हुन्छ । पहिला प्राथमिकता मानिसले आधारभुत कुरालाई नै ध्यानमा राखेको हुन्छ । आर्थीक अवस्थाले साथ दियो भनेमात्र बीमा गर्ने हो । दैनिक जीवनको पहिलो प्राथमिकता नै आवश्यकता भएको अवस्थामा चाहे बचत होस, बीमा, शेयरको क्षेत्रको विकास हुनु भनेको चुनौती नै हो फेरी त्यस्तो चुनौतीलाई चिर्ने भनेको सचेतना कार्यक्रम नै पहिलो हो । अर्को महत्वपूर्ण कार्य राज्यको नीति पनि हो ।

आगामी दिनमा बीमाको पहुँच बढाउन वा बीमा क्षेत्रमा अझै सुधार ल्याउन कम्पनीको योजना के छ ?
संस्थाले २४ औं वर्ष पार गरिसकेको छ । अब कम्पनीलाई पूर्ण रुपमा प्रविधिमैत्री बनाएर लाने तयारीका साथै सेवाहरुलाई कसरी पुनर्संरचना गर्ने भन्ने विषयमा केन्द्रित छौं । हामीे बीमामा पहुँच बढाउने कुरामा सचेत छौं । पहुँच बढाउने कुरालाई प्रभावकारी बनाउन अभिकर्ताहरूको अनलाइन परिक्षा भैरहको पनि छ । प्रविधिको प्रयोगबाट युवाहरूलाई बीमा क्षेत्रमा जोड्ने पहललाई पनि प्राथमिकतामा राखेका छौं । सेवालाई ग्राहकमुखी, एजेन्टमुखी कसरी बनाउने, जोखिमहरुलाई कसरी कम गर्ने भन्ने विषयमा कम्पनी कम्मर कसेर लागेको छ ।