सहकारी पीडितप्रति सरकार गैरजिम्मेवार भएको कांग्रेसको ठहर

सहकारी पीडितप्रति सरकार गैरजिम्मेवार भएको कांग्रेसको ठहर

संसदमा उठाउँदै आएको संसदीय छानबिन समिति बनाउने माग उचित रहेको निष्कर्ष


काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी रकम अपचलनमा संलग्न रहेको घटनाप्रति छानबिन गर्न संसदीय समिति गठन नगर्नु सहकारी पीडितप्रति गैरजिम्मेवार भएको ठहर गरेको छ।

मंगलबार – संसद् भवनमा बसेको संसदीय दलको बैठकले वर्तमान सरकार सहकारीबाट पीडित भएका लाखौँ नागरिकप्रति गम्भीर र संवेदनशील हुन नसकी गैरजिम्मेवार भएको ठहर गरेको हो ।

बैठकका बारेमा जानकारी दिँदै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले रकारको बहालवाला मन्त्रीहरू समेत सहकारीको रकम अपचलन गर्नेकुरामा संलग्न देखा परेको अवस्थालाई सरकारले संवेदनशीलता नदेखाएको आरोप लगाए । उनले कांग्रेसले प्रारम्भदेखि नै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम अपचलनको काममा संलग्न भएको कुरालाई लिएर निष्पक्ष, स्वतन्त्र र विश्वसनीय अनुसन्धान गर्न माग गरेको बताए ।

उनले संसदीय दलको बैठकले नेपाली काँग्रेसले उठाउँदै आएको माग उचित रहेको ठहर गरेको पनि बताए । उनले तत्काल नेपाली काँग्रेसको माग बमोजिम सहकारीको रकम अपचलन भएको विषयमा संसदीय छानबिन समिति गठन गर्न सरकारसँग माग गर्ने निर्णय समेत गरेको छ । कांग्रेसले उठाएको मागकाप्रति सरकार गैरजिम्मेवार भए संसदका काम कारबाही रोकिएको जिम्मा सरकारले लिनुपर्ने उनले बताए ।

उनले भने, ‘तत्काल सहकारीको रकम अपचलन भएको विषयमा संसदीय छानबिन समिति गठन गर्न कांग्रेसले सरकारसँग माग गरेको छ । कांग्रेस संसद् अवरोध चाहँदैन । तर काँग्रेसले उठाएको मागप्रति गैरजिम्मेवार भएर यदी सरकार गैरजिम्मेवारीपूर्ण ढंगले प्रस्तुत भयो भने संसदका काम कारबाहीको जिम्मा सरकारले लिनुपर्छ ।’

कांग्रेस संसदीय दलको बैठकले आपसमा धार्मिक, सामाजिक, सांस्कृतिक विपरीत विद्वेष फैल्याउने कुनैपनि खालका तत्त्वहरू अनुचित रहेको ठहर समेत गरेको छ । सुनसरीमा विषयलाई लिएर भएको धार्मिक झडपप्रति गम्भीर रहेको बताएको कांग्रेसले जनाएको छ ।