पुराना राष्ट्रिय गौरवका आयोजना सम्पन्न नगरी नयाँ आयोजना नथप्न संसदीय समितिको निर्देशन

पुराना राष्ट्रिय गौरवका आयोजना सम्पन्न नगरी नयाँ आयोजना नथप्न संसदीय समितिको निर्देशन


काठमाडौं – प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले पुराना राष्ट्रिय गौरवका आयोजना सम्पन्न नगरी नयाँ आयोजनाहरू थप नगर्न सरकारलाई निर्देशन दिएको छ। बिहीबार बसेको सार्वजनिक लेखा समिति बैठकले यस्तो निर्देशन दिएको हो।

समिति बैठकमा बोल्दै समिति सभापति ऋषिकेश पोखरेलले सरकारले घोषणा गरेका राष्ट्रिय गौरवका आयोजनाहरू सम्पन्न गर्ने दायित्व सरकारको भएको भन्दै पुराना आयोजनाहरू सम्पन्न नगरी नयाँ–नयाँ थप्ने काम नगर्न निर्देशन दिए । उनले वि.स. २०८३ /०८४ सम्म कम्तीमा बाटो र पुल निर्माण हुनेगरी हुलाकी राजमार्गसँग सम्बद्ध प्रस्तावित सडक मार्गको यकिन गरी विवरण उपलब्ध गराउन र हुलाकी राजमार्ग सम्पन्न गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिए ।


उनले राष्ट्रिय निकुञ्ज क्षेत्रको रेखाङ्कनमा अफ्ठ्यारो रहेको भन्दै त्यसलाई सहजिकरण गर्न सरकारलाई निर्देशन दिने बताए । उनले आगामी आर्थिक वर्षमा रेखाङ्कन गर्ने परिस्थिति नबने काम अगाडि बढ्नसक्ने अवस्था नभएको बताए। सभापतिले आयोजना प्रमुखलाई निश्चित अवधिसम्म वा कार्यसम्पादन नभएसम्म जबाफदेही बनाउन र निरन्तरता दिन सरकारलाई निर्देशन दिए। उनले हुलाकी राजर्माग र भौतिक मन्त्रालयसँग समेत जोडेर अर्थ मन्त्रालयले उठाएका जे प्रश्नबिचको विभेदका विषयमा अर्थ मन्त्रालयसँग जवाफ समितिलाई दिन आग्रह गरे।

उनले अहिलेसम्म हुलाकी राजमार्गको आयोजनाको १८ जना आयोजना प्रमुख हुँदा राजमार्गको भएको प्रगति विवरण समितिलाई उपलब्ध गराउन निर्देशन दिए। उनले हुलाकी राजमार्ग भित्रका अलपत्र ठेक्काहरू चालु आर्थिक वर्षमा सक्ने गरी आधार तयार गर्न निर्देशन दिए। उनले समितिले वैशाखको पहिलो हप्ता दुई प्रदेशमा हुलाकी राजर्मागको निरीक्षण गर्ने बताए ।