विप्रेषण आप्रवाह २१ प्रतिशतले बढ्दा घट्यो श्रम स्वीकृति लिनेको संख्या

विप्रेषण आप्रवाह २१ प्रतिशतले बढ्दा घट्यो श्रम स्वीकृति लिनेको संख्या


काठमाडौं – नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८०- ८१ को आठ महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) २१.० प्रतिशतले बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको आठ महिनाको वित्तीय विवरणले यस्तो देखाएको हो ।

बैंककाअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह २१.० प्रतिशतले वृद्धि भई रु.९ खर्ब ६१ अर्ब २२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले वृद्धि भई ७ अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो ।

त्यस्तै, समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ८६ हजार ९३२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ८४ हजार ७८ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तोसंख्या क्रमशः ३ लाख ५१ हजार ७६१ र १ लाख ९२ हजार ५५९ रहेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर १८.९ प्रतिशतले वृद्धि भई रु.१० खर्ब ४१ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २३.९ प्रतिशतले बढेको थियो ।