अर्थतन्त्रले शिथिलता फेस गरिरहेको छः गभर्नर अधिकारी

अर्थतन्त्रले शिथिलता फेस गरिरहेको छः गभर्नर अधिकारी


काठमाडौैं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी मुलुकको अर्थतन्त्रमा शिथिलता कायम रहेको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले अर्थतन्त्रले शिथिलता भोगिरहेको उल्लेख गरे।

उनले गत ०७९/८० को केन्द्रीय तथ्यांक कार्यालयले अनुमान गरेको तथ्यांकबाट २ प्रतिशतभन्दा कमको आर्थिक वृद्धिदर हासिल गरेको बताए। उनले चालु वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न लक्ष्य भए पनि लक्ष्यअनुसारको आर्थिक वृद्धि नहुने सूचकहरूले देखाइरहेको बताए।

उनले ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य पूरा नभए पनि औसत आर्थिक वृद्धि हुने दाबी गरे। गभर्नर अधिकारीले अर्थतन्त्रका कतिपय प्यारामिटर सबल बन्दै गएको बताए।

गभर्नर अधिकारीले अर्थतन्त्रका राम्रा पक्षलाई प्रयोग गरेर समग्रमा सुधार गर्न सक्ने ठाउँ रहेको बताए। अर्थतन्त्रको बाह्य क्षेत्र सवल रहेको दाबी गरे। उनले ७ महिनाको वस्तु तथा सेवाको आयात धान्ने राष्ट्र बैंकले राखेको लक्ष्यभन्दा पनि बढी १२.३ महिनाको वस्तु तथा सेवाको आयात धान्न सक्ने क्षमता अवस्था पुगेको बताए।

उनले मूल्यवृद्धि पनि लगभग ५ प्रतिशतको हाराहारीमा रहेको बताए। उनले बैंकको ब्याजदर क्रमशः घट्दै गएको र बैंकले पोलिसी रेट घटाउँदै गएको बताए।

सरकारलाई आर्थिक स्रोत जुटाउन र खर्च व्यवस्थापन गर्नका लागि चालु खर्च र वित्तीय खर्चको साइज बढ्दै गएकाले पुँजीगत खर्च गर्नुपर्ने रकम त्यतातिर लगाउनुपर्ने चुनौती सरकारसँग रहेको बताए। उनले समग्रमा अर्थतन्त्र हेर्दा बैंकिङ क्षेत्र सबल रहेको बताए।

अर्थतन्त्र र व्यवसायमा रहेको शिथिलता चिर्ने सरकार र निजी क्षेत्रको समन्वय र सहकार्य आवश्यक रहेको बताए। उनले अर्थतन्त्रको सिथिलता हटाउनका लागि उपाय रहेको भन्दै अर्थतन्त्र शिथिलता भयो भन्दैमा निराश हुने अवस्था नरहेको बताए।

उनले अर्थतन्त्रमा शिथिलता छ भन्दैमा कर्मचारी कटौती गर्दा थप अर्थतन्त्रमा शिथिलता बढ्ने भन्दै कर्मचारी कटौती नगर्न आग्रह गरे। उनले अर्थतन्त्र सवल बनाउनका लागि सरकार र निजी क्षेत्र सहकार्य गर्न आवश्यक रहेको बताए।

गभर्नर अधिकारीले अर्थतन्त्रका सूचकहरु सकारात्मक भएको आत्तिनुपर्ने अवस्था नभएको बताए। उनले विदेशी मुद्रा सञ्चितिलाई सरकारले प्रयोग गर्न आवश्यक रहेको बताए। उनले मनोबल गिराएर होइन, निजी क्षेत्र उच्च मनोबल बनाएर व्यावसायिक गतिविधिमा लाग्न आवश्यक रहेको बताए।