अर्थमन्त्रीको निर्देशनपछि आईपीओ निष्कासनमा अनुमति दिँदै धितोपत्र बोर्ड

अर्थमन्त्रीको निर्देशनपछि आईपीओ निष्कासनमा अनुमति दिँदै धितोपत्र बोर्ड


काठमाडौं– नेपाल धितोपत्र बोर्डले प्राथमिक शेयर निष्कासन (आईपीओ) पाइपलाइनमा रहेका र प्रक्रिया पूरा गरेका कम्पनीलाई क्रमशः स्वीकृति दिने भएको छ।

रमेशकुमार हमालकाे कार्यकाल सकिएसँगै अध्यक्ष पद रिक्त भएपछि करिब तीन महिनादेखि रोकिएको आईपीओ निष्कासन स्वीकृतिको काम अर्थमन्त्री वर्षमान पुनको निर्देशन सँगै पुनः सूचारु हुने भएको हो।

अर्थमन्त्री पुनले कुनै कैफियत नदेखिएका, कुनै निकायमा बक्यौता नरहेका र सही रूपमा प्रक्रिया पूरा गरेका कम्पनीलाई निष्कासन अनुमति नरोक्न भनेसँगै बोर्डले तयारी गरेको छ। यसै साता बोर्ड बैठक बसेर प्रक्रिया पूरा गरेका र अंकित मूल्यमै जारी गर्न आवेदन दिएका केही कम्पनीलाई स्वीकृति दिन सकिने बोर्डले जनाएको छ।

हाल धितोपत्र बोर्डमा कुल ३५ कम्पनीले आईपीओ अनुमति माग गर्दै स्वीकृतिकाे पर्खाइमा छन्। जसमध्ये पाँच कम्पनीले प्रिमियममा आईपीओ जारी गर्न अनुमति मागेका छन्।