चीन भ्रमणमा बिआरआई कार्यान्वयन योजनालाई अन्तिम रुप दिने बारेमा छलफल भयो : परराष्ट्रमन्त्री श्रेष्ठ

चीन भ्रमणमा बिआरआई कार्यान्वयन योजनालाई अन्तिम रुप दिने बारेमा छलफल भयो : परराष्ट्रमन्त्री श्रेष्ठ


काठमाडौं–उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो चीन भ्रमणका क्रममा बेल्ट एण्ड रोड इनिसियटको कार्यान्वयन योजनालाई अन्तिम रुप दिने बारेमा छलफल भएको बताएका छन् । परराष्ट्रमन्त्री श्रेष्ठले बुधबर समसामयिक विषयमा प्रतिनिधि सभा बैठकमा बोल्दै आफ्नो चीन भ्रमणका क्रममा बिआरआई कार्यान्वयनको योजनालाई अन्तिम रुप दिने सम्बन्धमा छलफल भएको बताएका हुन्।

उनले कोभिड महामारीका कारण बन्द भएका नेपाल–चीन बीचका १४ वटा परम्परागत व्यापार सिमा नाकाहरु यथाशिघ्र खोल्ने सहमति भएको पनि बताए । त्यस्तै नेपाल चीनबीच विद्यमान मैत्रीपूर्ण सम्बन्धका विविध आयामहरुमा नियमित रुपमा उच्च स्तरमा छलफल गर्न नेपाल र चीनका परराष्ट्रमन्त्री स्तरमा एक संयुक्त आयोग गठन गर्न दुवै पक्ष सहमत भएको जानकारी पनि उनले दिए।

उनले चीन भ्रमण गर्न चाहाने नेपालीहरुलाई चिनियाँ भिसा निःशुल्क उपलब्ध गराउन अनुरोध गरेको बताए।परराष्ट्रमन्त्री श्रेष्ठले चीनले नेपाललाई थप गुणात्मक सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको जानकारी दिए । नेपाल–चीनबीच भएको सहमतीहरुको प्रभावकारी कार्यान्वयन गरी तथा विद्यमान संयन्त्रको नियमित बैठक बसी र आवश्यकताअनुसार सम्बन्धित विषयमा कार्यसमूह (वर्किङ ग्रुप) गठन गरी आपसी सहयोगलाई थप गतिशील बनाउन दुवै पक्ष सहमत भएको पनि उनले उल्लेख गरे।

त्यसैगरी सीमा क्षेत्रमा बसोवास गर्ने नेपालीहरुलाई चीनको तिब्बत स्वशासित क्षेत्रमा चरन भूमी प्रयोग गर्न दिन र सीमावर्ती केही नेपाली गाउँहरुमा विद्युतिकरण गर्न चिनियाँ पक्ष सकारात्मक भएको उनको भनाइ छ।उनले नेपालको काठमाडौं र चीनको तिब्बत स्वशासित क्षेत्रको ल्हासाबीच सिधा बस सेवा पुनः सञ्चालन गर्न दुवै पक्ष सकारात्मक भएको पनि जानकारी दिए। (न्यूज एजेन्सी नेपाल )