सरकारले ल्याएको निजामती सेवा सम्बन्धी विधेयकमा त्रुटी छ : गगन थापा

सरकारले ल्याएको निजामती सेवा सम्बन्धी विधेयकमा त्रुटी छ : गगन थापा


काठमाडौं–प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको ‘संघीय निजामती सेवा विधेयकको डिजाईन नै गलत भएको टिप्पणी गरेका छन्। बुधवार प्रतिनिधि सभा बैठकमा उक्त विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफलमा भाग लिँदै उनले सो विधेयकलाई सबै दलहरुले मिलेर निजामती सेवालाई राम्रो बनाउने गरी छलफललाई अघि बढाउनुपर्ने प्रश्ताव समेत गरे।

यो पक्ष वा त्यो पक्ष नभनि सो विधेयकलाई समितिमा लगेर छलफल गर्नका सबै राजनीतिक दलहरु अघि बढ्नुपर्ने महामन्त्री थापाको भनाइ थियो।उनले सो विधेयकको उद्देश्य ठिक भएपनि त्यसलाई बोक्ने गरी विधेयक नआएको जिकिर पनि गरे।महामन्त्री थापाले निजामती सेवालाई आधुनिक बनाउनुपर्ने भएकाले पनि सो विधेयकमा व्यापक छलफल आवश्यक भएको बताए।

उनले भने, ‘कर्मचारी सेवा सम्बन्धि कानूनलाई संघीयता अनुरुप सञ्चालन गर्नका लागि संघीय निजामती ऐन ल्याइएको छ । म यसको स्वागत गर्छु । हाम्रो प्रशासन प्रणालीलाई सुव्यवस्थित र नतिजामुखि बनाउनका लागि, पेशागत रुपमा सक्षम उच्च मनोबल र नैतिक रुपले उत्तरदायी बनाउने यसको उद्देश्य रहेको छ । उद्देश्य ठिक छ । किनकी हामीलाई मध्यम आय भएको समुन्नत देश बनाउनु पर्नेछ । हाम्रो यो आकांक्षा पूरा गर्नका लागि हाम्रो निजामती सेवालाई त्यस अनुरुप आधुनिक बनाउन अति आवश्यक छ ।’

आफूले जुन उद्देश्य बोकेको छ, यसमा प्रस्तावित भएको कानुनी व्यवस्थाले यो विधेयकको उद्देश्यलाई बोक्छ, बोक्दैन भन्नेमा थापाले आशंका व्यक्त गरे । उनले भने, ‘यो उद्देश्य पूरा गर्नका लागि हामीले जरा चलाउनु पर्छ । तर विधेयकमा प्रस्तावित व्यवस्थाले केबल हांगाबिंगालाई छिमोल्ने कुरा मात्र गर्छ । हामीले निजामती सेवा भित्र कस्तो व्यक्तिहरुलाई, नागरिकहरुलाई भित्र्याउने ? यहाँबाट बहस शुरु गर्नुपर्छ । प्राज्ञिक हिसावले काबिल, नैतिक हिसावले प्रतिवद्ध, सिक्ने चाहने नागरिकहरुलाई हामीले कसरी ल्याउने ? अहिले भएको सेवा सुविधा, मौद्रिक सेवा सुविधा मात्रै होइन, गैर मौद्रिक सेवा सुविधा यो सबै कुराहरुबाट कसरी यो सबैभन्दा आकर्षित क्षेत्र बनाउन सकिन्छ रु भित्र्याई सकेपछि टिकाउने कसरी रु यहाँ भित्र न्यायको व्यवस्था, सरुवाबढुवा सबैलाई अनुमानयोग्य बनाउने कुरा ।’

स्थानीय तहमा आएका कर्मचारीहरुलाई प्रदेश, संघमा जानका निम्ति ढोका खोलिएको जस्तो गरीकन करियरलाई सुनिश्चित गर्ने कुरा, दण्ड र पुरस्कारको व्यवस्था, र केवल उमेरको कुरा मात्र होइन नभइ कामको आधारमा पुरस्कार प्राप्त गर्नसक्ने व्यवस्था लागु गर्नुपर्ने उनको भनाइ छ। साथै महामन्त्री थापाले निजामती सेवाका कर्मचारीलाई सन्तुष्ट बनाउने गरी ऐन ल्याउनुपर्नेमा जोड दिए। (न्युज एजेन्सी नेपाल)