सरकारले सडकसम्बन्धि सम्पूर्ण बजेट पुरानो सडकको मर्मतका लागि खर्च गर्नुपर्छः सांसद सिंह

सरकारले सडकसम्बन्धि सम्पूर्ण बजेट पुरानो सडकको मर्मतका लागि खर्च गर्नुपर्छः सांसद सिंह


काठमाडाैं– प्रतिनिधि सभाका सांसद डा.अमरेशकुमार सिंहले आगामी आर्थिक वर्षको सडक सम्बन्धि बजेट पुरानो सडकको मर्मत सम्हारमा खर्च गर्न सरकारसँग माग गरेका छन् ।

नेपालको सडकको अवस्था दुनियाँको कुनैपनि देशको भन्दा कमजोर भएकाले सडक दुर्घटनाका कारण मानिसहरुको दैनिक ज्यान गईरहेको उल्लेख गर्दै त्यसको मर्मत संहारका लागि सरकारले आगामी आर्थिक वर्षको बजेटको व्यवस्था गर्नुपर्ने बताए । नयाँ सडक नभइ पुरानो सडकलाई व्यवस्थित बनाउने काममा सरकारले ध्यान दिनुपर्ने सांसद सिंहको भनाई थियो । बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले नक्कली सवारी चालक अनुमति पत्र (लाईसेन्स) को बिगबिगी भईरहेको भन्दै नियन्त्रणका लागि सरकारलाई सचेत पनि गराए ।

सांसद सिंहले भने, ‘सरकारसँग सबभन्दा पहिले मानवीय संवेदनशीलता हुनुपर्छ । यसको संवेदनशीलता बिना सरकारको कुनै औचित्य छैन । किनकी कुनैपनि समुन्द्रमा सरकार हुँदैन । मानवको लागि नै सरकार बनेको हुन्छ । यातायात पोलिसी हाम्रो के हो ? आज नक्कली लाईसेन्सको बिगबिगी छ । त्यो जुन सवारीको लाईसेन्स दिने गरिएको छ । सही ढंगले नदिएपछि त्यसले पनि दुर्घटना निम्त्याएको छ । अधिकांश सडक हाम्रो देशका पहाडी भूभाग भएको हुनाले खोलाको किनाराबाट छ । तर त्यहाँ सेफ्टी वाल लगाएको छैन । यति व्यवस्थित सडक दुनियाँको कुनैपनि देशमा छैन । निम्न स्तरको सडक छ । सडकमा नै ठाउँठाउँमा खाल्डो छ । त्यो भन्दा माथि दलीय आवद्धताको आधारमा यातायात व्यवसायी संघ राखिएको छ । दलहरुले नै किल्लीयर भनिदिएको छ कि जति सक्दो थोत्रो बस चलाउ । हामी तिमीहरुको साथमा छौ । किनकी तिमी हाम्रै पार्टीको भातृ संगठन हो । देश लुट, मान्छे मार । मान्छे सडक दुर्घटनाका कारण दैनिक मरेका छन् । सम्बन्धित मन्त्रालयले ध्यान दिन पर्दैन ? बजेट कनिका छरेजस्तो गरेर होइन । यसपालीको सम्पूर्ण बजेट नयाँ सडक नबनाई पुरानो सडकको मेन्टिनेन्स र सेफ्टीमा खर्च गरोस्। यो सरकारसँग माग गर्नु चाहन्छु । किन, सडकको अवस्था एकदम दयनीय छ । ’

सांसद सिंहले सरकारले सवारी दुर्घटनामा परी नागरिकको ज्यान गईरहँदा पनि रोकथामका लागि खासै प्रयास नगरेको जिकिर समेत गरे । (न्युज एजेन्सी नेपाल)