लाइन काटिएपछि नगरपालिकाले बुझायो सडक बत्तीको बक्यौता

लाइन काटिएपछि नगरपालिकाले बुझायो सडक बत्तीको बक्यौता


पर्वत–लामो समयदेखि महसुल नबुझाएकाले सडक बत्तीको लाइन काटिएपछि कुश्मा नगरपालिकाले बक्यौता रकम भुक्तानी गरेको छ।नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रले लामो समयदेखि सडक बत्तीको रकम भुक्तानी नभएको भन्दै यही चैत ४ गतेदेखि कुश्माबजार क्षेत्रको लाइन काटेको थियो ।

नगरपालिकाले बक्यौतामध्ये रु. ५० लाख भुक्तानी गरेको केन्द्रका लेखाप्रमुख गोविन्दप्रसाद शर्माले जानकारी दिए।उनका अनुसार पटकपटक ताकेता गर्दा पनि नगरपालिकाले बक्यौता रकम भुक्तानी नगरेपछि बाध्य भएर विद्युत्को लाइन काटिएको हो।हालसम्मको रु. २४ लाख भुक्तानी दिन बाँकी रहेको भन्दै उक्त रकम पनि चाँडै भुक्तानी गर्ने प्रतिबद्धता नगरपालिकाले जनाएको लेखा प्रमुख शर्माले जानकारी दिए।

विद्युत् प्राधिकरणको वितरण केन्द्रका अनुसार सडकमा जडान गरिएका बिजुलीबापत पालिकाले रु. ७४ लाख बढी भुक्तानी दिन बाँकी थियोे।नगरपालिका र विद्युत् प्राधिकरणबीच चार वर्षअघि सडक बत्तीसम्बन्धी सम्झौता भएअनुसार सडक बत्तीबापतको रकम नगरपालिकाले भुक्तानी गर्ने उल्लेख थियो ।

केन्द्र हरेक बत्तीको ‘मिटरबक्स’ राखेर मात्रै सडक बत्तीको लाइन पुनः जोड्ने तयारी भइरहेको जनाएको छ । सडक बत्तीमा प्रयोग हुने मिटरबक्स विद्युत् प्राधिकरणले निःशुल्क दिने र तार नगरपालिकाले उपलब्ध गराउने सहमति भएको वितरण केन्द्रका प्रमुख प्रितमराज विष्टले जानकारी दिए।नयाँ सम्झौता गरेर हरेक बत्तीको मिटरबक्स नराखेसम्म लाइन नजोडिने उनको भनाइ छ ।

कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु तिवारीले बजेट अभावका कारण पूरै भुक्तानी गर्न नसकिएको बताए।बाँकी रहेको बक्यौता रकम भुक्तानीका लागि आगामी आर्थिक वर्षको बजेटबाट व्यवस्थापन गरिने उनले जानकारी दिए।सडक बत्तीको लाइन काटिएपछि अहिले कुश्माबजार र आसपासका वडा अन्धकार बनेका छन्।रातिको समयमा पनि झलमल्ल हुने बजारका चोक तथा गल्लीहरु दुई सातादेखि अन्धकार बनेका हुन्।

प्राधिकरणको पर्वत वितरण केन्द्रका लेखाप्रमुख शर्माले बक्यौता रकम असुलीमा केन्द्र सक्रिय भएर लागिरहेको बताए।नगरपालिका, सरकारी कार्यालय, सामुदायिक सङ्घसंस्था वा निजी घरहरुमा रहेको बक्यौता रकम असुली गर्ने अभियान नै सञ्चालन गरिएको उनको भनाइ छ । (रासस)