पर्यटन ऐन तत्काल परिमार्जन गर्न आवश्यक : सांसद भट्टराई

पर्यटन ऐन तत्काल परिमार्जन गर्न आवश्यक : सांसद भट्टराई


काठमाडौं– नेकपा (एमाले) की सांसद विद्या भट्टराईले पर्यटन ऐनलाई तत्काल परिमार्जन गर्न सरकारसँग माग गरेकी छिन् । मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले पर्यटन ऐन, २०३० लाई तत्काल अध्यावधिक गरी समय सान्दर्भिक बनाउन सरकारलाई दबाब समेत दिएकी हुन् ।

सांसद भट्टराईले पर्यटन रणनीतिक योजनाले प्रक्षेपण गरेको सन् २०२५ सम्ममा नेपालमा आउने वार्षिक पर्यटनको संख्या २५ लाख २२ हजार पुर्याउने लक्ष्य पूरा हुनेगरी काम गर्न पनि सरकारलाई सचेत गराएकी छिन् । उनले पोखरालाई पर्यटन राजधानी घोषणा गर्ने काम गरेकोमा सरकारप्रति आभार व्यक्त गर्दै त्यसको औचित्य पुष्टि हुनेगरी काम गर्न पनि आग्रह गरिन् । सांसद भट्टराईले पर्यटन क्षेत्र नेपालको विकासका लागि अति उपयोगी हुने भएकाले पनि सरकारले त्यसको विकासमा विशेष जोड दिनुपर्ने बताइन् ।