विश्व बैंकले सार्वजनिक गर्यो अर्धवार्षिक आर्थिक परिदृश्य, नेपालको स्थिति कस्तो ?

विश्व बैंकले सार्वजनिक गर्यो अर्धवार्षिक आर्थिक परिदृश्य, नेपालको स्थिति कस्तो ?


काठमाडौं– मंगलबार विश्व बैंकले साउथ एसिया डेभलपमेन्ट अपडेट (अर्धवार्षिक आर्थिक परिदृश्य) सार्वजनिक गरेको छ । जसमा नेपालको आर्थिक स्थितिको मूल्याङ्कन पनि गरिएको छ । उक्त परिदृश्यअनुसार हाल नेपालको आर्थिक वृद्धिदर ३.३ प्रतिशत रहेको छ । । जुन सन् २०२४ को प्रक्षेपण हो। २०२३ मा भने नेपालको आर्थिक वृद्धि २.२ प्रतिशतमा सीमित थियो ।

नेपालको आर्थिक स्थिति सामान्य अंकले वृद्धि हुँदा यसअघि विश्व बैंकले नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत हुने प्रक्षेपण गरेको थियो। आगामी वर्ष भने विश्व बैंकले नेपालको आर्थिक वृद्धि ४.६ प्रतिशत हुने अनुमान गरेको छ।

विश्व बैंककाअनुसार नेपालको सबैभन्दा बढी वृद्धि भने सेवा क्षेत्रमा देखिएको छ। जुन ४ प्रतिशत रहेको छ । सबैभन्दा कम वृद्धि हुने क्षेत्र कृषि रहेको छ । जसको वृद्धिदर जम्मा २.२ प्रतिशत छ । औद्योगिक क्षेत्रको वृद्धिदर भने २.९ प्रतिशत रहेको छ ।

पर्यटन सेवा र औद्योगिक क्षेत्रको योगदानसहित ऊर्जा र विप्रेषणको क्षेत्रमा भएको सुधारलाई आधार मानेर बैङ्कले उक्त प्रक्षेपण गरेको हो । आर्थिक परिदृश्य सार्वजनिक गर्दै मालदिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैङ्कका देशीय निर्देशक फरिस हदाद जर्भोशले पुँजीगत खर्च विस्तार, व्यावसायिक मनोबल वृद्धि र नेपालको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता वृद्धि र गरिबी घटाउन भएका प्रयास सराहनीय रहेका बताए ।

उनले रोजगारी सृजना, व्यापारमा खुलापनको वृद्धि, व्यावसायिक वातावरण र संस्थाहरुको सुधार, वित्तीय क्षेत्रको प्रतिबन्ध फुकुवा, शैक्षिक सुधार र महिला अधिकारको कानुनी संरक्षणको सुदृढीकरण गर्न सुझाए । साथै उनले रोजगारी वृद्धि र उत्पादन बढाउन तथा जलवायु अनुकूलनमा सार्वजनिक लगानीका निम्ति आधार तयार गर्न आवश्यक भएकामा जोड दिए ।

नेपालले आर्थिक विकासका निम्ति गरेको सुधार सराहनीय रहेको भन्दै देशीय निर्देशक जर्भोशले तीन तहकै सरकार मिलेर निजी लगानी प्रवर्द्धन सघाउनु पर्ने औंल्याए ।