भक्तपुरमा आठौँ औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव

भक्तपुरमा आठौँ औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव


काठमाडौं– नव वर्ष २०८१ को अवसरमा ‘आठौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०८०र८१’ आयोजना गरिएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महोत्सव यही चैत २२ गतेदेखि आगामी वैशाख २ गतेसम्म सञ्चालन हुने जानकारी दिइयो ।

औद्योगिक शान्ति नेपाल र मध्यपुर ब्वाइज ब्याण्डले संयुक्तरुपमा महोत्सवको आयोजना गरेको आयोजक संस्था औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले बताए । महोत्सव भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा सञ्चालन हुने आयोजकले जनाएको छ ।

महोत्सवमा दुई सयभन्दा बढी स्टल रहने आयोजक संस्थाका अध्यक्ष महतले बताए। उनका अनुसार महोत्सवमा दैनिक उपभोग्य सामग्री, खाद्यान्न, लत्ताकपडा, जुत्ता, अटोमोबाइल, खानाका परिकार, विभिन्न ब्राण्डका मोबाइल, इलेकट्रोनिक्स लगायतका स्टल रहनेछन् ।

औद्योगिक प्रदर्शनीमा विज्ञान प्रविधिको प्रदर्शनी, प्रविधिसम्बन्धी गतिविधि, कृषि तथा हस्तकलाका सामग्री, अटोमोबाइल प्रदर्शनी, विद्युतीय मेशिन, कृषि औजार लगायतको प्रदर्शनी हुने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार मेलामा बिक्री गरिने सामानमा २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । महोत्सवमा विद्यार्थी र ज्येष्ठ नागरिकलाई विशेष छुटको व्यवस्था गरिएको अध्यक्ष महतले जानकारी दिए।