कृषि बीमा वापतको रकम छिट्टै भुक्तानी हुन्छ : मन्त्रालय


काठमाडौं– कृषि मन्त्रालयले कृषि बीमाको रकम छिट्टै भुक्तानी हुने जानकारी दिएको छ । मन्त्रालयले जति सक्दो चाँडो बीमा बापतको रकम भुक्तानी गर्न अर्थमन्त्रालयसँग स्वीकृति माग गरेको छ ।

कृषि मन्त्रालयका बीमा शाखा प्रमुख अर्जुनप्रसाद भट्टका अनुसार मन्त्रालयले कृषि बीमाको लागि विनियोजन गरेको सबै रकम भुक्तानी गरिसके पनि यसैअन्तर्गतको पशु बीमातर्फको ४८ करोड रकम भने भुक्तान हुन सकेको छैन। सोही रकम भुक्तानीको लागि कृषि मन्त्रालयले अर्थमन्त्रालयसँग स्वीकृति माग गरेको भट्टले जानकारी दिए । उनले भने, ‘अर्थमन्त्रालयले स्वीकृत गर्ने वित्तिकै मन्त्रालयले बैठक बसेर सो बीमा रकम भुक्तानी गर्नेछ । हरेक वर्ष जस्तै कृषि बीमाको रकम उधारोमा चलिरहेको छ । यसलाई सहज बनाउन यथेष्ट बजेट विनियोजन गरिनुपर्छ । यसमा सरकारले कन्ज्युस्याई गर्न मिल्दैन ।’

यता बीमा कम्पनीहरुले सरकारबाट अनुदान वापतको रकम नपाएसम्म बीमा लेख जारी नगर्ने अडान लिएका छन् । सरकारबाट अनुदान वापतको रकम बीमा कम्पनीले नपाएर जोखिम बढ्दै गएपछि थप जोखिम दिन नपाइने भन्दै बीमा कम्पनीहरुको छाता संस्था नेपाल बीमक संघले तत्काल कृषि बीमाको काम बन्द गर्ने निर्णय गरेको हो । सरकारबाट बाँकी रहेको अनुदान रकम प्राप्त नभएसम्म कृषिसम्बन्धी बीमा लेख जारी नगर्ने निर्णय गर्दै बीमक संघले गत बुधबार विज्ञप्ति समेत जारी गरेको थियो । सो विज्ञप्तीमा भनिएको छ, ‘सरकारले बीमा कम्पनीको बक्यौता भुक्तानी नगरेको खण्डमा आगामी चैत १ गतेदेखि कृषिसँग सम्बन्धित बीमालेख जारी हुने छैन । संघले यस्तो निर्णयबाट कृषि बीमा गर्ने बीमितमा पर्न जाने असरप्रति क्षमा माग्दै सरकारी योजनाको भार बीमा कम्पनीले मात्र बोकिरहेको जनाएको छ ।’

जानकारहरुका अनुसार नेपाल कृषि प्रधान देश हुँदै गर्दा कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २७ प्रतिशत रहेको छ । जसमा कुल जनसंख्याको ६२ प्रतिशत जनसंख्या समेटिएको छ । कृषि व्यवसाय नेपालका धेरै कृषकहरुको लागि निर्वाहमुखी पेशा भएकाले आजभोली ठूला व्यवासायिहरु पनि कृषि व्यवसायमा विस्तारै आउँने क्रम बढ्दो छ । तर नेपालको कृषि व्यवसाय मौसममा आधारीत रहेकाले सुख्खा, अति बर्षा, हिउँ, असिना, बाढी, पहिरो, भुकम्प, रोगकिरा, जङ्गली जनावर, हावाहुरी, आगलागी लगायत विभिन्न जोखिमका कारण कृषकहरुले क्षति व्यहोर्न परिरहेको छ । यस्तो अवस्थामा सरकारले कृषि बीमा वापदको रकम तत्काल भुत्तान गर्नु आवश्यक देखिन्छ ।