‘फ्लेम स्पाइस’: विदेशको भोगाई, नेपाल फर्केर आफ्नै उद्यम

‘फ्लेम स्पाइस’: विदेशको भोगाई, नेपाल फर्केर आफ्नै उद्यम


पछिल्लो समय युवाहरू विदेशिने क्रम बढ्दो छ । उनीहरु वैदेशिक रोजगारीमा जानको लागि हुरुक्कै हुने गरेको पाइन्छ ।  युवाहरु  लाखौ खर्च गरेर  विदेशिनका लागि जोखिमपूर्ण बाटो समाउन पनि पछि पर्दैनन् । बाध्यताले विदेशिए पनि स्वदेशमै सम्भव छ भनेर व्यवसाय सुरुवात गर्ने तथा  व्यवसायलाई विस्तार गरिरहेका  उदाहरणहरु पनि थुप्रै  छन् । उनीहरुले  विदेशको आफ्नो भोगाईबाट सिक्दै नेपालमा भएको अवसरलाई पहिचान गर्दै त्यसलाई व्यबसायमा रुपान्तरण गरिरहेका छन्। त्यस्तै उदाहरण मध्येकी एक हुन्, भक्तपुरकी रविना श्रेष्ठ । 

आफ्नो देशको परिकार, विशेषत: नेवारी परिकारलाई देश विदेशसम्म चिनाउने उद्देश्यले करिब तीन वर्ष अगाडि उनले ‘फ्लेम स्पाइस’ रेष्टुरेन्ट सञ्चालनमा ल्याएकी हुन्। भक्तपुरको ऐतिहासिक र सांस्कृतिक ठाउँ पाँचतले मन्दिर नजिकै उनको रेष्टुरेन्ट रहेको छ । ‘मैले नेपालमै आफ्नै व्यवसाय गर्छु भन्ने सोचले खोलेको हो । सबैले फ्लेम स्पाइसको परिकारलाई  मन पराउनु भएको छ त्यसैले मैले अब काठमाडौंको अन्य ठाउँमा पनि खोल्ने योजना बनाएको छु’, उनले भनिन् । 

नेपालमा केही गर्छु भन्ने जोश भएता पनि घरायसी कारण रविना कतार जान वाध्य भएकी थिइन् । कतारको रोजगारीमा वोर्किङ्ग आवर बढी हुने र परिवारबाट टाढा भएर बस्नु पर्दा दिनरात उनलाई पीडा हुने गर्थ्यो । उनी भन्छिन्, ‘विदेश पुगेपनि मलाई नेपाल फर्किनु थियो, नेपालमा नै फर्किएर केही गर्नुपर्छ भन्ने अठोट थियो ।’ यसैक्रममा धेरै सोचेपछि आफुले सानैदेखि देखेको रहनसहन र नेवारी स्वादलाई सबैमाझ लोकप्रिय बनाउने सकिन्छ भन्ने मनमा लाग्न थाल्यो र उनी केही गर्ने उत्साह र जोश बोकेर  नेपाल फर्किइन्, त्यही  जोशको परिणाम हो ‘फ्लेम स्पाईस’ रेष्टुरेन्ट । 

बिहान ६ बजेदेखि बेलुका १० बजे सम्म खुल्ने गरेको रेष्टुरेन्टको मुख्य विशेषता भनेकै नेवारी परिकारहरुको परम्परागत स्वाद आफ्नो ग्राहकहरु माझ पस्किनु हो । व्यवसायीहरुले ग्राहकहरु किन हाम्रो व्यवसायसँग जोडिरहेका छन् भन्ने  गम्भीर रूपमा बुझ्न जरूरी रहेको उल्लेख गर्दै रविना भन्छिन्, ‘हाम्रो प्राथमिकता भनेको नै  ग्राहकको रुचि र चासो अनुसार उनीहरुले परिकारहरुमा खोज्ने विशुद्ध नेवारी स्वाद कायम गर्न ध्यान दिनु हो।‘ 

आफूले व्यवसायलाई धेरै माथि ल्याइसकेकोमा विश्वास नभएको र अझै धेरै गर्न बाँकी रहेको उनी बताउँछिन् । रविना भन्छिन्, ‘छोटो अवधि भित्र मैले धेरैको मन जितेको छु र मलाई यो व्यवसायलाई अझै अगाडि पुर्याउनु छ।’ 

उनको रेष्टुरेन्टमा ग्राहकले ‘नेवारी खाजा सेट र चटामरीलाई धेरै रुचाएका छन् । अहिलेको समयमा हप्ताको एक दिन घर बाहिर रेष्टुरेन्टमा गएर खाना खाने चलन धेरै बढिरहेको रविना बताँउछिन् । यसलाई मध्यनजर गरेर ग्राहकले रुचाएको अनुसारका खानाहरू बनाउन सक्यो भने यो व्यवसायमा धेरै अवसरहरू रहेको उनी बताउँछिन् । 

आफ्नो अनुभव साट्दै उनी भन्छिन्, ‘कुनैपनि व्यवसायमा  एकै दिनमा सफल हुन्छु भनेर सोच्नु हुँदैन । हरेक सफलताको लागि  चुनौती, मेहनत, लगन चाहिन्छ ।’ रेष्टुरेन्ट खोलेर यो अवस्थासम्म पुर्याउन आफूलाई बाहिरबाट अरुले देखेजस्तो  सजिलो नभएको र यो ठाउँसम्म व्यवसाय ल्याउन धेरै संघर्ष गर्नु परेको रविनाले बताइन् । ‘मैले शुरुवात गर्ने समयमा धेरै प्रतिस्पर्धी व्यवसायीहरू थिए । मार्केटमा के चलिरहेको छ भनेर खोजी गर्न समय लाग्यो । व्यवसाय विस्तार र संचालन गर्दा चाहिने आर्थिक व्यबस्थापनको पाटोको समस्या झनै मुस्किल रहेको थियो’ , उनी भन्छिन्, ‘सफल हुन जस्तोसुकै चुनौतीसँग लड्न सिक्नुपर्छ । मेरो लागि विदेशबाट फर्किएर नेपालमा व्यवसाय गर्न खोज्नु एउटा चुनौती थियो ।’ 

सुविधा सम्पन्न पूर्वाधार, नियम कानून र व्यवसायिक वातावरण भएको ठाउँबाट नेपाल फर्किएर व्यवसायलाई अगाडि बढाउँन धेरै बाधाहरू झेल्दै आएको उनी बताउँछिन् । 

महिलाहरूलाई आर्थिक पाटोमा संलग्न गराउन पाए महिलामा आत्मनिर्भरता बढ्नुका साथै आर्थिक अवस्थामा सुधार आउने विषयमा स्थानीय तथा राष्ट्रियस्तरसम्म कुरा उठ्ने गर्छ । महिला उद्यमीहरूलाई जति नै प्राथमिकता दिए पनि पुरुष उद्यमीको तुलनामा महिला उद्यमीलाई काम गर्न चुनौती धेरै रहेको रविनाको धारणा छ । सबै महिला उद्यमीहरूलाई उनि सुझाव दिँदै भन्छिन्, ‘कुनै पनि चुनौतीको सामना गर्न डराउनु हुदैन् । आफ्नै व्यवसाय गर्दा जति नै कमाई भएपनि निडर र आत्मनिर्भर  भइन्छ ।’ 

पछिल्लो समय युवाहरू विदेशिनुको कारण प्रोत्साहनको कमी रहेको रविनाको बुझाई छ । यसै सन्दर्भमा उनी आफ्नो विदेशी बसाइलाई सम्झिदै भन्छिन्, ‘म जति समय पनि विदेशमा बसे दैनिक काम गर्नुपर्ने समय  एकदमै धेरै हुने गथ्र्यो । नेपालमा त्यति नै समय दिएर काम गरे भने पक्कै सफल हुन्छु भन्ने सोचेर नै म स्वदेश फर्केको हो ।’  

उनी भन्छिन्, ‘उद्यमीहरूले नै रोजगारी सिर्जना गर्ने हो त्यसैले सरकारका संयन्त्रहरु उद्यमीमैत्री हुनुपर्यो। विश्वभरिका देशहरु कसरी उद्यमीहरुलाई, लगानी गर्नेहरुलाई अनि शिक्षितहरुलाई आफ्ना-आफ्ना देशमा भित्र्याउने भनेर लागिपरेको अहिलेको समयमा हामीले कम्तिमा आफ्नो नागरिक विदेश नै किन जाने ? आफ्नै देशमा पनि अवसरलाई सफलतामा बदल्न राज्यले साथ, भरोशा दिन्छ भन्ने आत्माविश्वास जगाउन आवश्यक रहेको छ।’