एक रिपोर्ट

बीमा क्षेत्रप्रति सर्वसाधारणको बढ्दो बितृष्णा

बीमा क्षेत्रप्रति सर्वसाधारणको बढ्दो बितृष्णा


काठमाडौं– बीमाको इतिहासलाई हेर्ने हो भने २००४ सालमा नेपाल बैंक लिमिटेडको सक्रियतामा नेपाल माल चलानी तथा बीमा कम्पनीको स्थापना गरिएको थियो । हाल उक्त कम्पनी नेपाल इन्स्योरेन्सको नाममा सञ्चालित छ । त्यती बेलामा नेपालमा र्नीजीवन बीमाको कार्य केही मात्रामा हुने गर्दथ्यो । त्यसपछि जीवन बीमा व्यवसाय विंस २०२९ देखि सुरु भएको हो । विंस २०२५ मा स्थापना भएको बीमा संस्थानले विंस २०२९ देखि जीवन बीमा व्यवसाय सुरु गरेको थियो । बीमा व्यवसाय सुरुवात भएको धेरै दशक भैसक्दा पनि बीमा क्षेत्र उत्साहजनक रुपमा अगाडि बढ्न सकेको छैन । बीमा कम्पनीहरुले उल्लेख्य लाभ लिएतापनि जुन वर्ग र मानिसमा बीमाको पहँच पुग्नुपर्ने हो त्यो पुगेको छैन ।

भिडियो

नेपालमा बिमा के हो यसबाट हुने तत्कालिका तथा दिर्घकालिन फाईदा सम्बन्धी विश्वसनीय जानकारीको अभाव तथा कमजोर आर्थिक अवस्थाका कारण धेरैले बिमालाई प्राथमिकतामा नराखेको देखिन्छ । उपयुक्त बीमा प्रोडक्टहरुको अभाव अनि प्रिमियम शुल्क मंहगो भएको कारण धेरैले बीमा नगरेको पाइएको छ । मानिसहरूले आफ्नो सिमित आम्दानीले छोराछोरीको पढाई, दैनिक आवश्यकताका आधारभूत बस्तुका लागि मात्र खर्च धान्ने अवस्था छ । जसले गर्दा बीमा उनिहरुको प्राथमिकतामा नपरेको देखिन्छ ।

सर्वसाधारण देवराज अधिकारी भन्छन् ‘मलाई बीमा गर्ने चेत छैन र बीमाको लागी तिर्नुपर्छ भनिएको जुन प्रिमीयम रकम छ त्यो मसँग छैन मलाई दैनिकी गुजारा गर्नै धौ धौ छ । त्यस्तै वरिष्ठ वकिल गान्धी पण्डितका अनुसार बीमा गरिसकेपछि बीमा गर्ने कम्पनीले बीमितलाई भने अनुसारको सेवा सुविधा नदिने र म्याद सकिएपछि पनि रकम भुत्तानीको लागी बाहाना बनाउने कारणले मानिसलाई बीमाप्रति विश्वास नै छैन ।’ यता प्राध्यापक त्रिलोचन घिमिरे भन्छन् ‘मैले पहिले नै बीमा गरेको हुँ तर म्याद सकिएपछि आफ्नो रकम लिन धेरै झन्झट खेप्नुपर्यो त्यसैले सकेसम्म म कसैलाई बीमा गर भन्दिन’ । त्यस्तै प्राध्यापक मुकुन्दराज शर्मा भन्छन् ‘हामी जस्तो न्युन आर्थिक अवस्था भएका मान्छेको प्राथमिकतामा बीमा पर्दैन ।’

अधिकांश मानिसहरु बीमा किन गरिन्छ र यसबाट के फाइदा हुन्छ भन्ने ज्ञान नहुँदा बीमाबाट बञ्चित भएका छन् । नेपालको हालको जनसंख्या २ करोड ९१ लाख छ जसमा बीमा क्षेत्रमा जोडिएको जनसंख्या ४४ प्रतिशत मात्र छ बाँकी ५६ प्रतिशत मानिस वीमा बाट बञ्चित छन् ।

सर्वसाधारण ठाकुरप्रसाद नेपालका अनुसार ‘नेपालमा न कुनै बीमा कम्पनीले सुरक्षाको लागि हो भनेर बीमाको महत्व बुझाउँछन् र नागरिकले बीमाको महत्व बुझेका छन् म आफैँ पनि बीमाबारे खासै जानकार छैन । प्राध्यापक लालबहादुर बुढाथोकी भन्छन् ‘हामीहरुको पालामा बीमाको चलन खासै थिएन अहिले बुढो अवस्थामा के बीमा गर्नु भने महिले त बीमा गरेकै छैन ।’ सर्वसाधारण तारा भण्डारी भन्छिन् ‘बीमा भनेको मलाई थाहा नै छैन । साथीभाई बीमा गरौ भन्न त आउँथें महिले चासो देखाइन ।’ विधार्थी भन्छन् मोटरसाइकलको बीमा गर्नै पर्ने भएर गरेको छु । म विधार्थी मान्छे बीमा गर्न आवश्यक छ जस्तो लाग्दैन ।’ सर्वसाधारण शैलेन्द्र काफ्लेका अनुसार ‘ नियामक निकाय जस्तै छैन । बीमा कम्पनीको दादागीरि छ । जसलाई जे मन लाग्यो गर्छन् । नियामक निकाय सबल नहुँदा नेपालमा बीमाबाट मानिसले लाभ लिन नसकेका हुन ।’

मानिसहरु एजेन्टको रूपमा काम गर्ने साथीभाईकै दवाबको कारण नियम, सर्त र त्यसबाट आफुँले के लाभ लिन सकिन्छ भन्ने समेत नबुझी बीमा गर्न बाध्य छन् । त्यसरी गरि एजेन्टले व्यक्तिगत फाईदाका लागि सर्त नियम विपरितको आश्वासन दिएर बीमा गरिदिँदा क्षतिपूर्ति भुक्तानी र दाबी भुक्तानी लिने बेला हुने झन्झट र ढिलासुस्तिले बीमा कम्पनीप्रति जनताको विश्वास निरन्तर गिर्दो अवस्थामा छ ।

यता उपभोक्ता अधिकारकर्मी प्रेम महर्जन भन्छन, ‘बीमीतले बीमा रकमबाट बीमा कम्पनीले मनग्य लाभ लिइरहेको हुन्छ, तर केही दुर्घटना पर्यो भने बीमा दाबी भुक्तानी लिन वर्षौ लगाइदिन्छ । बीमा कम्पनी कसरी चलेका छन् नेपालमा मलाई अचम्म लाग्छ । एमाले सांसद रञ्नु ठाकुर भन्छिन् ‘हाम्रो सरकारले बीमाबारे नागरिकलाई ज्ञान दिनै सकेन’ । ‘काठमाडौं महानगर वडा १६ का अध्यक्ष ख्वामराज तीवारीका अनुसार बीमा कम्पनीको दादागीरी ले नै मानिसहरु बीमा गर्न डराएका हुन् । यसमा नियामक निकायले हस्तक्षेप गर्नै पर्छ नत्र मानिसहरुमा बीमाप्रतिको नकारात्मक धारणा परिवर्तन हुन सक्दैन ।’

हालसम्म कानुनी चेपुवामा परेर मात्र धेरैले बिमा गर्ने गरेको पाइएको छ । सवारी साधनमा तेस्रो पक्ष बीमा अनिवार्य गरिएकाले त्यसमा धेरै नागरिक बाध्य भएर सहभागी हुने गरेको पाइएको छ भने बैंकबाट ऋण लिँदा बिमा गर्नैपर्ने बाध्यात्मक व्यवस्थाका कारण मात्र बीमा गरिएको देखिन्छ । ‘माओवादी केन्द्रका प्रतिनिधी सभा सदस्य सांसद माधव सापकोटाका अनुसार बीमा कम्पनीले जसरी बीमा गराउँदा मानिसलाई सेवा सुविधा र त्यसको महत्व बुझाउँछन् भुत्तानी दिने बेला आलटाल गर्ने झन्झटिलो प्रक्रियाले गर्दा मानिस बीमा गर्नबाट पछि हटिरहेका छन् ।’ सर्वसाधारण प्रेमराज सेढाईले भन्छन् ‘केही वर्ष अगाडी बीमा गराएका थिए तर म्याद सकिएपछि पाउनुपर्ने रकम पुरा दिएन त्यसैले म बीमाप्रति सकारात्मक छैन ।’

एक विधार्थीका अनुसार बाइकको तेस्रोपक्ष बीमा गरेको छु । अरु मलाई आवश्यक छैन।’ ‘ललितपुर कुपन्डोलमा व्यवसाय चलाउँदै आएका एक महिला भन्छिन् बीमा गरेको १० वर्ष नाग्यो ८ वर्ष सम्म प्रिमियम तिरेको हुँ ७० हजार भन्दा बढी रकम मेरो बीमा कम्पनीले लगेको छ । एउटी चिनेकी बहिनीले भनेर बीमा गरेको अहिले ती बहिनी नदेखेको धेरै भइसक्यो, खै त्यो पैसा कसरी पो लिने ।’

त्यतिबेला सङ्क्रमितहरुले संक्रमण पुष्टि भएको कागजात पेश गरेपछि एकमुष्ट रु १ लाख पाउने सर्तमा धेरैले बीमा गराएका थिए सुरुवाती चरणमा केहीले उक्त योजन अन्तर्गत २५ हजार रुपैया औषधि उपचारस्वरुप पाए तर संक्रमित बनेकाहरुलाई बाचा गरे बमोजिम सरकारले सो रकम भुत्तानी गर्न सकेन् जसले गर्दा बीमाप्रति अविश्वासको वातावरण सिर्जना गर्यो । राज्यले पनि बीमा गराउनका लागि स्वाथ्य वीमा,कृषि बीमा जस्ता कार्यक्रम नल्याएको हैन तर ल्याएको कार्यक्रम प्रभावकारी नभएको तथ्य स्वास्थ्थ बीमा र कृषि बीमा कार्यक्रमबाट प्रष्टै भइसकेका छौँ ।

नेपालमा बीमा क्षेत्रमा धेरै समस्या छन् । स्वयंम् नियामक निकाय नेपाल बीमा प्राधीकरण पनि यसबाट अनविज्ञ छ । यो विषय बीमा प्राधीकरणकै पदाधीकारीहरु पनि स्वीकार गर्छन् । हालसम्म बीमामा न समेटिएकाहरुलाई बीमाको वास्तविक महत्व र आवश्यकताका थाहा छ । न प्राधिकरणले नै यसबारे यथेष्ट प्रयत्न गरेको छ । नेपालका वर्ग समुदाय लक्षित उपयुक्त बिमा प्रोडक्टहरुको अभाव, जबर्जस्ती वा लालच देखाएर बीमा पोलिसी भीराउने एजेन्टको रवैयाले समग्र बीमा क्षेत्रको साख गिरिरहेको छ । तर बजारको यथार्थ अवस्था थाहा पाउँदा पनि नियमक नेपाल बीमा प्राधिकरण किन मौन छ ?