के हाे सेन्चुरी बैंक घाेटाला प्रकरण ?

के हाे सेन्चुरी बैंक घाेटाला प्रकरण ?


प्रभु बैंकसँग मर्ज भएको तत्कालीन सेन्चुरी कमर्सियल बैंक घोटाला प्रकरणमा प्रभु बैंकका सिनियर डेपुटी सीईओ मनोज न्यौपाने सहित अन्य १० जना कर्मचारीलाई सीआईबीले हतकडी लगाएर पक्राउ गरेपछि अहिले बैंकिङ्ग क्षेत्र तरगिंत बनेको छ । यस प्रकरणमा बैंकरहरुले सामाजिक सञ्जालहरुमा आ आफ्नो धारणाहरु राखिरहेका छन् । बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले बुधबार आकस्मिक बैठक बोलाएर बैंकका कर्मचारी प्रकाउ गरेको प्रति असन्तुष्टि जनाएका छन् । बैंठकले पक्राउ परेका बैंकरहरुलाई रिहा नगरे बैंकिङ्ग काम नै ठप्प पार्ने बताएको छ ।

बैंठकले प्रहरी र गृहमन्त्रीलाई बैंकिङ्ग सिस्टमबारे बुझाउने पनि उल्लेख गरेको छ । संघको बैठकले माग सम्बोधन नभए आन्दोलनमा उत्रिनेसम्मको निर्णय गरेको छ । लगत्तै नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशेसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ, र नेपाल लघुवित्त बैंकर्स संघले पनि संयुक्त विज्ञप्ति जारी गर्दै बैंकिङ्ग क्षेत्र जस्तो अत्यावश्यक एवं संवेदनशील क्षेत्रमा भईरहेको धरपकड एवं पक्राउ बारे समस्त बैंकिङ्ग क्षेत्र नै चिन्तित र आतंकित बनेको बताएका छन् । उनीहरुले विज्ञप्तिमार्फत ‘अपराधी उम्किन नहुने तथा निर्दोषले सजाय पाउन नहुने’ भन्ने न्यायका सिद्धान्तका आधारमा अनुसन्धान गर्न सम्बन्धित निकायलाई आग्रह समेत गरेका छन्  ।

यता प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सीआईबीका अनुसार बैंकको यस प्रकरणमा सीईओदेखि कर्मचारीसम्मको मिलेमतोमा ८० करोडको धितो राखेर गुडवीलको आधार देखाउदै २ अर्ब २५ करोड बराबरको ऋण प्रवाह गरेको पाइएको छ । सीआईबीका अनुसार ललितपुर सातदोबाटोस्थित देउराली बहुउद्देश्यीय सहकारीले गरेको ठगीका अनुसन्धान गर्दै जादाँ सीआईबीले थप छानबिनका लागि प्रभु बैंकमा कार्यरत कर्मचारी सम्म पुग्नुपरेको बताएको छ  । उक्त सहकारीका सञ्चालक रविन्द्र चौलागाईले सहकारीका बचतकर्ताहरुको ३ अर्वभन्दा बढी रकम फिर्ता नगरेको आरोप लागेपछि चौलागाईलाई सोधपुछका लागि पक्राउ गरि असोजदेखि नै थुनामा राखेको थियो ।

सोही बिषयमा सीआईबीलाई राष्ट्र बैंकले गुडवीलको आधारममा कर्जा दिन नपाउने प्राबधान औलाउदै परामर्श दिएपछि नियम विपरित गुडवीलको नाममा कर्जा दिने कार्यमा संलग्न बैंकका कर्मचारीहरुलाई पक्राउ गरीएको सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिएका छन् ।

बुधबार पक्राउ परेका मनोज न्यौपाने तत्कालीन सेन्चुरी बैंकका सीईओ हुन्। पौष २६ गते २०७९ मा एककृत कारोबार गर्दै सेन्चुरी बैंक प्रभु बैंकमा गाभिइसकेको छ। उनी हाल प्रभु बैंकका सिनियर डेपुटी सीईओको पदमा कार्यरत रहेका छन् ।
सहकारी सञ्चालक चौलागाईले गुडविलका आधारमा त्यतिबेलाको सेन्चुरी बैंकबाट कर्जा लिएको बयान दिएपछि सो कार्य राष्ट्र बैंकको नियमविपरीत रहेकाले उक्त कर्जा प्रवाहमा संलग्न प्रभु बैंकका सिनियर डेपुटी सीईओ मनोज न्यौपाने सहित १० कर्मचारी पक्राउ परेका हुन् ।