कर तिर्न बाध्य पारिएको भन्दै चलचित्रकर्मी आक्रोशित, २२ गते देशभरिका सिनेमा हल बन्द

कर तिर्न बाध्य पारिएको भन्दै चलचित्रकर्मी आक्रोशित, २२ गते देशभरिका सिनेमा हल बन्द


काठमाडौं– तोकिएकोभन्दा धेरै कर तिर्न बाध्य पारिएको भन्दै चलचित्रकर्मी आक्रोशित बनेका छन् । योसँगै नपाल चलचित्र संघले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै देशभरिका सिनेमा हल माघ २२ गते बन्द हुने घोषणा समेत गरेको छ ।

चलचित्र क्षेत्रले विभिन्न करहरुको नाममा ३३ प्रतिशतभन्दा बढी करहरु तिर्न बाध्य पारेकोमा आपत्ति जनाउँदै हलहरु बन्द हुने जानकारी दिइएको हो । सोही कर खारेज गरिनुपर्ने संघका महासचिव नरेन्द्र महर्जनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा लेखिएको छ, ‘विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पश्चात् नेपाली चलचित्र क्षेत्र धराशायी भएको व्यहोरा सर्वविदितै छ । चलचित्र विकास बोर्ड स्थापना हुनु पूर्व मुलुकमा करिब ४५० चलचित्र घरहरु सञ्चालनमा थिए भने मौजुदा अवस्थामा मुलुकभर करिब १५० संख्यामा चलचित्र घरहरु सञ्चानमा छन् । सञ्चालनमा रहेका चलचित्र घरहरुको व्यवसाय शून्यप्रायः छ । चलचित्र क्षेत्रले विभिन्न करहरुको नाममा ३३ प्रतिशतभन्दा बढी करहरु तिर्न बाध्य पारिएको छ भने मूल्य अभिवृद्धि कर तथा कर्पोरेट कर लागूभएपछि अन्य करहरुको नलगाउने संहिता विपरीत चलचित्र विकाश शुल्क, स्थानीय मनोरञ्जन कर लगायत विभिन्न करहरुले चलचित्र व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्था भएको हुँदा मूल्य अभिवृद्धि कर बाहेकका अन्य अव्यवहारिक करहरुको खारेजीको माग गर्दै सांकेतिक रुपमा आगामी माघ २२ गते सोमबार एक दिन मुलुकभरका चलचित्र घरहरु बन्द गर्ने निर्णय भएको व्यहोरा जानकारी गराउँदछु ।’