मिर्मिरे र महिला सहयात्रा लघुवित्तको साधारण सभा बुधवार हुदैं

मिर्मिरे र महिला सहयात्रा लघुवित्तको साधारण सभा बुधवार हुदैं


बैकिङ्ग समाचार ।

चैत १८ गते बुधवार दुई लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा हुदैंछ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले दशौं वार्षिक साधारण सभा पञ्चकन्या बैंक्वेट प्रा.लि बनेपाबजार, काभ्रेपलाञ्चोकमा विहान ११ बजे सभा बोलाएको हो । सभाले ९ दशमलव २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४८ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । 

कम्पनीले प्रस्तावित लाभांश संशोधन गरेको हो । यस अघि गत आर्थिक वर्ष २०७६÷७७ को लागि १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश गरी कुल १२ दशमलव ६३ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । प्रस्तावित लाभांश स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेश गर्दा वित्तीय विवरण सुधार गरी पुनः पेश गर्न निर्देशन भएकाले लाभांश संशोधन गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी रू. ३९ करोड ६१ लाख ४६ हजार रहेको छ । सोही आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो । लाभांश प्रस्तावसँगै कम्पनीले गत आर्थिक वर्ष ०७६÷७७ को वार्षिक प्रतिवेदन सहितको प्रतिवेदन पारित गर्नेछ भने स्वेडा लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गर्ने क्रममा स्वेडा लघुवित्तको तत्कालिन शेयरधनीहरुले राखेको कल्स इन एडभान्स रकमलाई संस्थापक शेयरधनीहरुको चुक्तापूँजीमा समायोजन गर्न समेत सभाले अनुमति प्रदान गर्नेछ ।

 साथै प्राप्त पश्चात संस्थापक र सर्वसाधारण शेयरपूँजीको अनुपात मिलाउने क्रममा फरक परेको रकमलाई प्रिमियममा एफपीओ जारी गर्ने विषय पनि सभामार्फत अनुमोदन गराउने कम्पनीको तयारी छ । अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती प्रकृया अघि बढाउँन आवश्यक भएमा त्यसको सम्पूर्ण अधिकार सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत ८ गतेदेखि बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा चैत ५ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिनका लागि योग्य भएका छन् । 

त्यस्तै , महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्तावित लाभांश सहित विविध प्रस्ताव पारित गर्न आठौं वार्षिक साधारण सभा ओम अध्याय रिट्रिट रिर्सोट, मकवानपुरमा विहान ११ बजे बोलाएको छ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तिय विवरण पारित गर्नुका सार्थ १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश प्रस्ताव पनि पारित गर्नेछ ।  

हाल कम्पनीको चुक्ताूपूँजी रू. १३ करोड ३१ लाख रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो । वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा फागुन २८ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य भएका छन् ।