आठ अर्बको ट्रेजरी बिल बोलकबोल आज

आठ अर्बको ट्रेजरी बिल बोलकबोल आज


बैकिङ्ग समाचार ।

नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण उठानका लागि ८ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

बैंकले यसअघि बिक्री गरिसकेका बिलको म्याद समाप्त भएकाले नवीकरण गर्न लागेको केन्द्रीय बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार इच्छुक नेपाली नागरिक तथा बैंक तथा वित्तीय संस्थाले ट्रेजरी बिल्स खरीदका लागि सोमबार दिउँसो ३ बजेसम्म बोलकबोलमा सहभागिता जनाउन सक्नेछन् भने चैत्र १७ गते, मंगलबार बिल जारी हुनेछ ।

केन्द्रीय बैंकका अनुसार ५ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल २८ दिनको अवधिको, १० करोड रूपैयाँ बराबरको ९१ दिनको अवधिको र ३ अर्ब रूपैयाँ बराबरको१८२ दिनको अवधिको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

२८ दिनको अवधिको ट्रेजरी बिल २०७८ साल वैशाख १४ गते, ९१ दिनको अवधिको ट्रेजरी बिल २०७८ साल असार १५ गते र १८२ दिन अवधिको ट्रेजरी बिल २०७८ साल असोज १२ गते परिपक्क हुनेछ ।

सरकारलाई पैसा आवश्यक परेको अवस्थामा नेपाल राष्ट्र बैंक मार्फत आन्तरिक ऋण उठाउने गर्छ । सरकारले अल्पकालिन र दीर्घकाीलन दुबै प्रकृतिका ऋण लिने गर्छ । ट्रेजरी बिललाई अल्पकालिन ऋणका लागि प्रयोग गरिने औजारको रुपमा लिइन्छ । केन्द्रीय बैंक मार्फत उठाइने आन्तरिक ऋण ट्रेजरी बिल बिक्री गरेर पैसा उठाइन्छ । सो ट्रेजरी बैंक तथा वित्तीय संस्थाहरुले खरिद गर्छन ।

भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ । व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ ।

मंगलबार निष्काशन हुने ट्रेजरी बिलको ब्याजदर यो भन्दा पनि माथि जाने अनुमान बैंकरहरुको छ । ट्रेजरी बिलको रेटलाई वित्तीय प्रणालीको तरलताले प्रभाव पार्ने गर्छ। वित्तीय प्रणालीमा तरलता कसीलो अवस्थामा रहेको हुनाले ट्रेजरी बिलको रेट बढ्ने अुनमान गरिएको हो ।