राष्ट्र बैंकले दैनिक १५ किलोसम्म सुन आयात गर्न दिने

राष्ट्र बैंकले दैनिक १५ किलोसम्म सुन आयात गर्न दिने


बैकिङ्ग समाचार ।

नेपाल राष्ट्र बैंकले सुन आयात कोटा बढाएर १५ किलोसम्म बनाउने भएको छ । केन्द्रीय बैंकले हाल दैनिक १० किलोको आयात कोटालाई बढाएर १५ बनाउन लागेको हो ।

सुन व्यवसायीहरु बजारमा काँचो सुनको माग बढेको र सो अनुसारको आपुर्ति हुन नसकेको गुनासो गर्दै अर्थमन्त्रीसम्म पुगेका थिए । व्यसायीहरुले सरकार तथा सरकारी निकायहरुमा सुन आयात कोटा बढाउने माग राख्दै धाउन थालेपछि केन्द्रीय बैंक सकारात्मक भएको हो । केही दिन अघि मात्र पनि व्यवसायीहरुले सुन आयात कोटा बढाउन अनुरोध गर्दै केन्द्रीय बैंकसम्म पनि पुगेका थिए ।

“सुन व्यवसायीहरुले दैनिक ३० किलो सुनको माग गरेको भएपनि बजारको अस्थामा अनुसार १५ किलोसम्म दैनिक आयात कोटा तोक्ने तयारीमा राष्ट्र बैंक छ,” राष्ट्र बैंक स्रोत भन्यो,“बढ्दो आयात, रेमिट्यान्स आप्रवाहमा आगामी दिनमा हुन सक्ने गिरावट, व्यापार घाटा र ब्यालेन्स अफ पेमेन्टमा परेको चापलाई विचार सुन आयात कोटा बढाउन लागेको हो ।”

सरकारले कोभिडका कारण भएको लकडाउनका क्रममा घटाएको कोटा अझै वृद्धि नगरेकोले अहिलेको समस्या आएको व्यवसायीहरु बताउँदै आएका छन् । लकडाउन अघि सामान्य समयमा दैनिक २० किलो र लगनको समयमा दैनिक २५ किलो सुन आउने गरेको थियो । तर, कोरोनाका कारण सुरु भएको लकडाउनपछि सुन आयत कोटा घटाइ १० किलो प्रतिदिनमा सिमित भएको थियो ।

सुनको आयात नै थोरै भएपछि नेपाली बजारमा सुनको अभाव बढ्न थालेको थियो । आवश्यकता अनुसार कच्चा सुन सहज रुपमा उपलब्ध नहुँदा बजारमा अवैध रुपमा सुन भित्रिन सक्ने जोखिम बढेपछि राष्ट्र बैंकले सम्बोधन गर्ने भएको हो ।