राजीनामाको २४ घण्टा नहुँदै शपथ, अर्थ मन्त्रालयमा मन्त्री खतिवडाको भव्य स्वागत  

राजीनामाको २४ घण्टा नहुँदै शपथ, अर्थ मन्त्रालयमा मन्त्री खतिवडाको भव्य स्वागत  


बैंकिङ्ग समाचार ।  

बुधबार पुनः अर्थमन्त्रीमा नियुक्त डा. युवराज खतिवडाले पदभार ग्रहण गरेका छन् । बुधबार राष्ट्रपति कार्यालयमा सपथ लिएपछि उनले अर्थ मन्त्रालयमा आई पदभार ग्रहण गरेका हुन् ।

उनलाई अर्थमन्त्रालयका कर्मचारीहरुले भव्य स्वागत गरे ।  राष्ट्रियसभामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट सिफारिस खतिवडाको अवधि मंगलबार सकिएको थियो । स‌ंसद सदस्य नरहेपछि उनले मंगलबार नै पदबाट राजीनामा दिएका थिए ।
तर राजीनामा दिएको भोलिपल्ट बुधबार खतिवडा पुनः अर्थमन्त्री नियुक्त भएका हुन् ।

यसअघि खतिवडा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिय सभा सदस्य बनेका थिए । तर, राष्ट्रियसभाको पहिलो कार्यकाल भएकाले गोलाप्रथाबाट खतिवडालाई दुई वर्षको मात्र कार्यावधिको चिठ्ठा परेको थियो ।

खतिवडा मन्त्री बन्दा उनी गैरसांसद मन्त्री बनेका हुन् । संविधनको धारा ७८ मा ‘संघीय संसदको सदस्य नभएको व्यक्ति पनि मन्त्री हुने’ व्यवस्था छ । यद्यपि उनको राष्ट्रियसभाको अर्को कार्यकाल भने अझै अन्योलमा छ । ६ महिनाभित्र सांसद नबने खतिवडाको मन्त्री पद यतिमै सीमित हुनेछ ।

मन्त्रिपरिषद्ले खतिवडालाई दोस्रोपटक राष्ट्रियसभामा सिफारिस गर्न सक्नेछ ।