कृषि विकास बैंकको अध्यक्षमा लक्ष्मी प्रपन्न निरौला नियुक्त 

कृषि विकास बैंकको अध्यक्षमा लक्ष्मी प्रपन्न निरौला नियुक्त 


बैंकिङ्ग समाचार ।
करिव डेढ महिना अघि नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकास पाएका लक्ष्मी प्रपन्न निरौला कृषि विकास बैंकको अध्यक्षमा नियुक्त भएका छन् । राष्ट्र बैंकबाट उमेरहदको कारण अवकास पाएका उनलाई अर्थमन्त्रालयले उनलाई नियुक्ती गरेको हो ।

२०४६ माघ ७ गतेबाट राष्ट्र बैंकबाट जागिर सुरु गरेका उनले नेपाल बैङ्क, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्र बैङ्कका विभिन्न विभागमा बसेर उनले काम गरीसकेका छन् ।  उनले २०५५ सालमा नेपाल बैंकको करिब १ अर्ब ५० करोडको घोटालाको अनुसन्धानको लागि ३ वर्ष राष्ट्र बैंक बाहिर बसेर काम गरेका थिए । त्यस्तै उनले डेढ वर्ष राष्ट्र बैंकको वित्तीय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत  नेपाल बैंकमा ब्यबस्थापन समिति सदस्य रहेर पनि काम गरेका थिए ।

२०६६ मा बैंक अफ काठमाडौंमा संचालक समितिमा विवाद भई राष्ट्र बैंकले टेकओभर गर्दा निरौलाकै नेतृत्वमा ब्यवस्थापन समिति बनेको थियो । उक्त समितिले ३ महिनामा संचालक समतिको चुनाव गराई नेतृत्व हस्तान्तरण गरेको थियो । 

एनसिसि बैंकले ४ वटा विकास बैंकलाई मर्ज गर्दा करिब साढे २ वर्ष निरौला संचालक समिति संयोजक भएर काम गरेको थिए। राष्ट्र बैंकका तत्कालिन कार्यकारी निर्देशक नारायण पौडेलले अनिवार्य अवकाश पाएपछि निरौलाले राष्ट्र बैंकको प्रबक्ताको जिम्मेवारी समेत सम्हालेका थिए ।उनको नियुक्तिले कृषि विकास बैंकलाई थप उचाईमा पुर्याउन सहयोग पुग्ने विश्वास गरिएको छ। 

राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश पाएको ३ बर्षसम्म कुनै बैंक वित्तीय सँस्थामा काम गर्न नपाइने भएपनि नेपाल सरकारबाट नियुक्ति हुने पदमा यो व्यवस्था लागू नहुने राष्ट्र बैंक ऐनमा छ ।