नेप्से ४२.९५ अंकले बढ्यो, ४ अर्ब ६६ करोडको कारोबार

नेप्से ४२.९५ अंकले बढ्यो, ४ अर्ब ६६ करोडको कारोबार


बैकिङ्ग समाचार । 

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक करिब ४३ अंक बढेर बन्द भएको छ। यस दिन नेप्सेसँगै भोल्यूममा पनि केही सुधार भएको छ।

यस दिन नेप्सेसँगै कारोबार रकम पनि बढेकोले नेप्से पुनः बुलिश लयमा फर्किएको विश्लेषण बजारमा हुन थालेको छ। हालसम्मकै उच्च विन्दु २६४० विन्दुमा पुगेको नेप्से, करिब ३ साताको करेक्सन पछि गत मंगलबार २३७० विन्दुमा टेवा पाएर फर्किएको थियो। नेप्से सूचक उकालो लागेपनि भोल्यूम कम भएका कारण लगानीकर्ताहरु बजार फर्किएको हो कि होइन भन्ने अन्योलमा थिए। तर, यस दिन नेप्से र भोल्यूम दुबै बढेसँगै बजार अब पुनः बुलिश यात्रामा अघि बढेको विश्लेषण हुन थालेको हो। आगामी साताको कारोबारले अझ स्पष्ट पर्ने जानकारहरु बताउँछन्।

बिहीबार नेप्से परिसूचक ४२.९५ अंक बढेर २४७५.०९ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ५.५५ अंक बढेर ४४४.१५ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन फ्लोट इण्डेक्स २.६९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७६ अंक बढेको छ।

यस दिन बजारमा २१३ कम्पनीको ५७ हजार ७४२ पटकको कारोबारमा ४ अर्ब ६६ करोड १७ लाख ९२ हजार रुपैयाँ बराबरको १ करोड १६ लाख ५७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यो बुधबारको तुलनामा १ अर्बभन्दा बढी हो।

४ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार

यस दिन ४ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। बिहीबार ग्रीन लाइफ हाइड्रोपावर, युनाइटेड इदि मार्दि, चन्द्रागिरी हिल्स र नेपाल बङ्गलादेश बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

कारोबारमा आएका जोशी हाइड्रोपावर र आँखुखोला जलविद्युत कम्पनीको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ।

बिहीबार कारोबारमा आएका १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटनको परिसूचक सर्वाधिक ४.१ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ३ प्रतिशत बढेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन १.०६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल बङ्गलादेश बैंक शीर्ष स्थानमा रहेको छ। नबिल बैंकसँग मर्जरको हल्लाले यस बैंकको शेयर कारोबार बढेको हो। सो बैंकको यस दिन ७६ करोड ७६ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंकको २१ करोड ६२ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।