एनसीसी बैंकले चैत १३ गतेदेखि ऋणपत्र निष्काशन गर्ने, वार्षिक साढे ९ प्रतिशत ब्याज पाइने

एनसीसी बैंकले चैत १३ गतेदेखि ऋणपत्र निष्काशन गर्ने, वार्षिक साढे ९ प्रतिशत ब्याज पाइने


बैकिङ्ग समाचार ।

नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसीसी)ले चैत १३ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ। सो ऋणपत्रको नाम ‘९.५० प्रतिशत एनसीसी ऋणपत्र २०८६’ रहेको छ।

बैंकले प्रतिऋणपत्र एक हजार अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। निष्काशन गरिने कुल ऋणपत्रमध्ये १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिनेछ। बाँकी १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा बिक्री गर्न लागेको हो। सर्वसाधारणमा बिक्री गरिने ऋणपत्रमध्ये ६० हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ। त्यसैले, सर्वसाधारण लगानीकर्ताहरुले कुल ११ लाख ४० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

सो ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। ऋणपत्र निष्काशन तथा बिक्री छिटोमा चैत १८ गते बन्द हुनेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि चैत २७ गतेसम्म लम्बिनेछ।

सो ऋणपत्रको अवधि १० वर्षको रहेको छ। बैंकले वार्षिक ९.५० प्रतिशतका दरले हरेक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात भुक्तानी गरिने बैंकले जनाएको छ।

ऋणपत्र निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले बैंकलाई मध्यम कर्जा जोखिम जनाउने इक्राएनपी आइआर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ। त्यसैगरी, इक्राले ऋणपत्रलाई मध्यम कर्जा जोखिम जनाउने इक्राएनपी एल त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ। यस्तो रेटिङ्ग प्राप्त वित्तीय उपकरणलाई समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित मानिन्छ।

ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त सि आस्बा सेवामा सहभागित बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।