ग्लोबल आइएमई बैंकको ऋणपत्रमा आवेदन गर्ने म्याद लम्बियो

ग्लोबल आइएमई बैंकको ऋणपत्रमा आवेदन गर्ने म्याद लम्बियो


बैकिङ्ग समाचार ।

ग्लोबल आइएमई बैंक लिमिटेडले चैत १ गतेदेखि बिक्रीमा ल्याएको ३ अर्ब रुपैयाँ बराबरको ’८.५० ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७’ मा आवेदन गर्ने म्याद लम्बिएको छ ।

बैंकको ऋणपत्रमा छोटो अवधिमा आवश्यक आवेदन नपरेपछि ढिलो अवधिसम्म लम्बाइएको हो । छोटो अवधिमा सबै ऋणपत्र बिक्री नभएपछि अब ढिलोमा चैत १६ गतेसम्म आवेदन दिन सकिनेछ ।

बैंकले प्रतिइकाई एक हजार रुपैयाँ अंकित दरका ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो । दश वर्षको अवधिको उक्त ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक ८ दशमलव ५० प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा पाउनेछन् ।

निष्काशनमा आउने ३ अर्बको ऋणपत्रमध्ये १ अर्ब ८० करोड बराबरको १८ लाख कित्ता ऋणपत्र बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ । बाँकी रहेको १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता ऋणपत्रका इकाई सर्वसाधारणमा आउनेछ ।

सर्वसाधारणलाई निष्काशन गरिनेमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ । ११ लाख ४० हजार इकाई खरीदका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

ऋणपत्रमा न्यूनतम २५ कित्ताका लागि २५ हजार रुपैयाँदेखि अधिकतम १० लाख कित्ताका लागि १ अर्ब रुपैयाँसम्मका आवेदन दिन सकिनेछ । इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त सि आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा तथा मेरो शेयरको वेवसाइट तथा मोबाइल एपबाट समेत आवेदन दिन सक्नेछन् ।

बैंकले जारी गर्न लागेको ऋणपत्रलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले न्यून कर्जा जोखिम जनाउने ‘इक्रा एनपी एल ए माइनस’ रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले प्राप्त वित्तीय उपकरणलाई समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छ ।

ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।