सांग्रिला डेभलपमेन्ट बैंकले चैत २३ गते डाक्यो साधारण सभा

सांग्रिला डेभलपमेन्ट बैंकले चैत २३ गते डाक्यो साधारण सभा


बैकिङ्ग समाचार ।

सांग्रिला डेभलपमेन्ट बैंकले चैत २३ गते सोह्रौँ वार्षिक साधारण सभा डाकेको छ । गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट शेयरधनीहरुलाई वितरण गर्न प्रस्तावित लाभांश अनुमोदन र मर्जर तथा प्राप्तीको मुख्य एजेण्डा सभामा रहेको छ ।

चैत १ गते सम्पन्न सञ्चालक समितिको बैठकले लैनचौर ब्याङ्क्वेट, लैनचौरमा बिहान १० बजे आह्वान गरिएको साधारण सभाले चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनाका लागि ०.२६३२ प्रतिशत नगद गरी कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ । हाल बैंकको चुक्ता पूँजी २ अर्ब ६० करोड ६६ लाख ४० हजार ४०० रुपैयाँ रहेको छ । बोनसपछि २ अर्ब ७३ करोड ६९ लाख ७२ हजार ४२० रुपैयाँ पुग्नेछ ।

यसैगरी सांग्रिला डेभलपमेन्ट बैंक र अन्य कुनै बैंक तथा वित्तीय संस्था प्राप्ति गर्ने वा एक आपसमा गाभ्ने।गाभिने प्रयोजनका लागि उपयुक्त बैंक वा वित्तीय संस्थाको पहिचान र छनोट गर्ने, समझदारीपत्रमा हस्ताक्षर गर्ने तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्याङ्कन गर्न राष्ट्रिय वा अन्तर्राष्ट्रिय मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्ती गर्ने लगायतका कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभामा रहेको छ ।

यसका साथै बैंकको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आव २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरूमाथि छलफल गरी पारित हुने जनाइएको छ ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि बैंकले चैत्र १० गतेदेखि चैत्र २३ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार चैत्र ९ गते सोमबारसम्म नेप्सेमा कारोबार भई कायम हुन आउने शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्नुका साथै साधारण सभामा प्रतिनिधित्व जनाउन सक्नेछन् ।