बैकिङ्ग समाचार ।
ग्लोबल आइएमई बैंक लिमिटेडले आइतवारदेखि (चैत १ गते) देखि रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्दैछ ।
कम्पनीले ८ दशमलव ५० प्रतिशत ब्याजदर भएको ग्लोबल आइएमई बैंक डिबेञ्चर २०८६/ ८७ निष्कासन गर्न लागेको हो । कुल ऋणपत्रमध्ये १८ लाख कित्ता कम्पनीले परिपत्र विधिबाट विभिन्न संघ संस्थाहरुलाई व्यक्तिगत तवरले विक्री गर्नेछ भने १२ लाख कित्ता ऋणपत्र भने आम सर्वसाधारणका लागि विक्री गर्न लागेको हो ।
कम्पनीले सर्वसाधारणमध्येको बाट पनि ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी ११ लाख ४० हजार कित्ता सार्वजनिक निष्कासन गर्न लागेको हो । यो ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले ऋणपत्र छिटोमा चैत ४ गते र ढिलोमा चैत १६ गतेसम्म विक्री खुला रहने बताएको छ । यस ऋणपत्रलाई इक्रा नेपालले न्युन कर्जा जोखिमको संकेत गर्ने इक्रा इस्युअर ए माइनस रेटिङ्ग प्रदान गरेको छ ।
यो ऋणपत्र विक्री प्रबन्धकमा सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै ऋणपत्र खरीद गर्न चाहनेहरुले आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयसँगै मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।
कम्पनीले यो ऋणपत्र निष्कासनका लागि फागुन १६ गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो ।
प्रतिक्रिया